पढ्नलाई उमेरले छेकेन रत्नकुमारीलाई, ८० वर्षमा पास गरिन् १२ कक्षा

काठमाडौं । ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेझैं पढ्नलाई पनि उमेरले छेकेन रामेछापकी रत्नकुमारी सुनुवारलाई । उमेरले ८० वर्ष टेकिसकेकी उनी हिजो प्रकाशित कक्षा १२ को परीक्षामा २.६४ जीपीएका साथ उत्तीर्ण भएकी छन् ।

रत्नकुमारीले काठमाडौंको शान्तिनगरस्थित बानेश्वर क्याम्पसबाट १२ कक्षाको बोर्ड परीक्षा दिएकी थिइन् । ग्रामीण विकास, समाजशास्त्र र जनसञ्चार विषय लिएर पढेकी उनी नियमित विद्यालय जाने गर्थिन् ।

रामेछाप चरिकोट अड्डामा जन्मेकी रत्नकुमारीका चार छोराछोरी र सात नातिनातिना छन् । उमेरमा लेक–बेसी धाउँदा र मेलापात गर्दैमा व्यस्त भएर पढ्न नपाएको उनी बताउँछिन् ।

‘पछि सन्तान हुर्काएर फुर्सदिलो भएपछि पढ्ने रहर जाग्यो,’ उनी भन्छिन् ।

रत्नकुमारीले कोरोना आएका बेला एसईईको परीक्षा दिएकी थिइन् । त्यसपछि लगालग परीक्षा दिएर १२ कक्षा उत्तीर्ण भएकी हुन् ।

केही समयअघि बीबीसीसँगको कुराकानीमा उनले भनेकी थिइन्, ‘पढ्नलाई उमेरले छेक्दो रहेनछ । पहिले मलाई धेरैले खिस्याउँथे । घाम तापेर नबसेर के लखर लखर हिँडेको भनेर खेदो खन्थे । पाकेको धानमा पानी लगाएर के फाइदा भन्थे । तर मैले कसैको वास्ता गरिनँ ।’

उनलाई पढ्नका लागि परिवारका सदस्यहरूले हौसला दिएका थिए । छोराबुहारी र श्रीमानको हौसलाले आफू पढाइमा अघि बढेको उनले बताएकी छन् ।

छोराछोरीहरूले पढाइ अपूरो छोडेपछि उनीहरूलाई प्रेरणा दिनका लागि पनि आफूले पढ्न थालेको उनको भनाइ छ ।