कर्तव्य ज्यान मुद्दाको आरोपमा प्रदेशसभा सदस्य यादव पक्राउ

काठमाडौं । प्रदेशसभा सदस्य अनिरुद्ध प्रसाद सिंह यादव कर्तव्य ज्यान र डाका मुद्दाको आरोपमा पक्राउ परेका छन् । सप्तरीको बोदेबरसाइन नगरपालिका ५ निवासी प्रदेशसभा सदस्य यादवलाई सोमबार दिउँसो ३ः३० बजेतिर राजविराजबाट प्रहरीले पक्राउ गरेको हो ।

घरबाट आफ्नो निजि प्रदेश २–०१–००१च०५०१ नम्बरको कार चढी सदरमुकाम राजविराज आएको बेला उनलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्कीले जानकारी दिए । उनलाई नियन्त्रणमा लिइएको ’दयगत तत्कालै प्रदेश सांसद सचिवालय तथा माथिल्लो निकायमा जानकारी गराइएको उनको भनाई छ ।

यादव गत प्रदेशसभाको निर्वाचनमा सप्तरीको प्रदेशसभा ४ को २ बाट निर्वाचित भएका हुन् । जनता समाजवादी पार्टीका स्थानीय प्रभावशाली नेता मानिएका उनलाई पार्टीले टिकट नदिएपछि उनी स्वतन्त्र उम्मेदवारी दिँदै निर्वाचित भएका हुन् ।

उनले आफूमाथी लगाइएको आरोप झुठा रहेको दाबी गरेका छन् । पक्राउ लगत्तै उनलाई हिरासतमा राखी अनुसन्धान गर्न अनुमतिका लागि सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएको थियो । अदालतले समय अभाव देखाउँदै मंगलबार उपस्थित गराउन आदेश दिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी नरेश कुमार सिंहले जनाएको छन् ।

यादव पक्राउ परेको खबर पएलगत्तै उनका दाजु राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, आफन्त र शुभचिन्तकको ठूलो भिड अदालत बाहिर जम्मा भएको थियो ।

प्रहरी उपरिक्षक कार्कीका अनुसार २०६४ साल असार ९ गते सोही नगरपालिका क्षेत्रमा भएको कर्तव्य ज्यान र डाकाको एक घटनामा यादवसमेतको संलग्नता रहेको भन्दै स्थानीय रिताकुमारी चौधरीले ९ जना बिरुद्ध किटानी जाहेरी दिएकी थिइन् ।

जाहेरी प्रहरी हुँदै अदालतसम्म पुगेको थियो । माओवादी नेता गोबिन्द चौधरीको हत्या तथा लुटपाटमा संलग्न रहेको भन्दै उनका दिदी रिताको तर्फबाट परेको उक्त किटानी जाहेरीमा मुल्तबीमा रहेको उक्त मुद्दा उपर अनुसन्धान गर्ने क्रममा प्रदेशसभा सदस्य यादव पक्राउ परेको प्रहरीको भनाई छ ।

मृतकका दिदी धनगढी गाविस ३ की रीताकुमारी चौधरीले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०६४ असार १४ गते सिंहसमेत नौ जनामाथि किटानी उजुरी दिएकी थिइन् ।