चलचित्र ‘एक भगवत गीता’ को नाम विवादबारे चलचित्र विकास बोर्डमा छलफल

काठमाडौं । केही आध्यात्मिक संस्थाले नेपाली चलचित्र ‘एक भगवत गीता’को नामबारे उठाएका प्रश्न र विमतिबारे चलचित्र विकास बोर्डमा छलफल भएको छ ।

२९ भदौ रिलिज मिति तोकिएको यो चलचित्रको नाम परिवर्तन गर्नुपर्ने माग आध्यात्मिक विकास समाज, हिन्दू जागरण नेपाल र विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिले गरेका थिए । श्रीमद भगवत गीता कुनै कथा नभई सन्देशहरूको ग्रन्थ भएका कारण कथाका रूपमा गलत तरिकाले प्रस्तुत गर्न लागिएको आरोप उनीहरूले लगाएका थिए ।

त्यसको जवाफ दिँदै निर्माण पक्षले भगवत गीताको नाममा कुनै गलत सन्देश दिन नलागेको प्रस्ट पार्दै गीताले दिएको कर्मयोगको सन्देशलाई आम मानिसमाझ परिचित गराउनु चलचित्रको उद्देश्य रहेको बताएको थियो । आध्यात्मिक गुरूहरूले स्क्रिप्ट र चलचित्र हेरेपछि नामसम्बन्धी विवादलाई टुंगो लगाउने सहमति छलफलमा भएको छ ।

बोर्ड अध्यक्ष भुवन केसीले चलचित्रको निर्माता परिवार नै अध्यात्ममा विश्वास राख्ने भएको कारणले पनि यो चलचित्रले धर्मग्रन्थलाई गलत व्याख्या नगरेको विश्वास लिएको बताए । उनले भने, ‘हुनत मैले यो चलचित्र हेरेको छैन तर पनि उहाँहरूको परिवारका सबै सदस्य नै आध्यात्मिक रहेको कारण श्रीमद भगवत गीताको सन्देशको विपरीत चलचित्र बनाउनुभएको छ भन्ने लागेको छैन । यद्यपि, चलचित्र हेरेर मात्र नाम परिवर्तनको विषयमा निर्णय लिनु उत्तम हुनसक्छ ।’ केसीले समस्या समाधानका लागि बोर्डले सदैव सबै पक्षलाई स्वागत गर्ने बताए ।

छलफल अत्यन्त सकारात्मक र पेचिलो भएको बोर्डका प्रवक्ता केएल बुढाथोकीले बताए । उनले ‘एक भगवत गीता’बारे विवाद र विमति सकारात्मक निष्कर्षमा पुर्‍याउन सर्वसम्मत सहमति भएको बताए । यो चलचित्रले कुनै पनि जात, धर्म, समुदाय, लिंग, क्षेत्र र भाषा संस्कृतिमाथि आघात पुर्‍याउने, विभेद सिर्जना गर्ने, द्वैष र घृणा फैलाउने वा कुनै किसिमको मानहानि हुने आशय व्यक्त गर्नु हुँदैन भन्ने कुरामा बोर्ड स्पष्ट र दृढ रहेको बुढाथोकीले बताए ।

बोर्ड अध्यक्ष भुवन केसीको उपस्थितिमा भएको छलफलमा चलचित्रका तर्फबाट निर्माता सुनिल कुमार थापा, निर्देशक झरना थापा र नायिका सुहाना थापा सहभागी थिए । हिन्दू जागरण नेपालका रामकृष्ण उपाध्याय, हरिप्रसाद पाठक, शिव सेना नेपालकी सिर्जना वाग्ले, मनोज सापकोटा, विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिका सागर थापालगायत आध्यात्मिक संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।