गाडीको ठक्करबाट अटोरिक्सामा सवार एक जनाको मृत्यु ‍

काठमाडौं । दाङको तुलसीपुरमा गाडीले अटोरिक्सालाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

आज बिहान सवा ९ बजे नेपालगंजबाट रुकुम जाँदै गरेको लु २ ख ५९१८ नम्बरको फोर्स गाडीले तुलसीपुर – १६ डोक्रेनाबाट तुलसीपुर आउँदै गरेको रा १ ह ४४५९ नं. को अटोरिक्सालाई तुलसीपुर(६ स्थित स्टार चोकमा ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते भएका तुलसीपुर-१६ डोक्रेनाकाका १३ वर्षीय दामोदर भण्डारीको उपचारका क्रममा तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुर पोखरेलका अनुसार दुर्घटनामा ६ जना घाइते छन्।

अटो चालक तुलसीपुर – ६ गोलौराका ५७ बर्षीय तिलबहादुर कार्कीको अवस्था गम्भीर छ। उनको टाउँको र अनुहारमा गहिरो चोट पटक लागेको छ ।

उनलाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको डिएसपी पोखरेलले बताए ।

अटोमा सवार तुलसीपुर – १६ डोक्रेनाका ११ बर्षीया बर्षा बस्नेत, उनकी ६ बर्षीया बहिनी श्रृष्टी बस्नेत, सोही ठाउँका १८ बर्षीया अन्जु डाँगी घाइते भएका छन् । अन्य दुइको अवस्था भने सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

अन्य घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार जारी छ। ठक्कर दिएर गाडीका चालक फरार भएका थिए। अहिले उनलाई नियन्त्रणमा लिइएको डिएसपी पोखरेलले जानकारी दिए।