स्वास्थ्य मन्त्रालय र नेपाल चिकित्सक संघबीच वार्ता हुँदै

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल चिकित्सक संघबीच आज वार्ता हुने भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले शनिबार अतिरिक्त स्वास्थ्य सचिव डा. विकास देवकोटाको संयोजकत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, गृह मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव रहने गरी पाँच सदस्य रहेको वार्ता समिति गठन गरेको सहसचिव तुलसीनाथ गौतमले जानकारी दिए।

उनका अनुसार नेपाल चिकित्सक संघको तर्फबाट पेशागत हकहित र सुरक्षाका विषयमा उठाएका विषयवस्तुलाई तत्काल सम्बोधन गर्नका समितिले नेपाल चिकित्सक संघका आधिकारीक प्रतिनिधिसँग वार्ता गर्ने बताए। उनले छलफलबाट विवादको समाधानको पहल भइरहेको विज्ञप्तिमा उल्लेख छ।

आइतबार नेपाल चिकित्सक संघले आकस्मिक बाहेकका सबै सेवा बन्द गर्दा बिरामी मारमा परेका छन्। देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरेर चिकित्सक आन्दोलनमा उत्रिदा बिरामी उपचार पाउनबाट बञ्चित भएका हुन्। चिकित्सकहरुले ‘हामी भगवान होइनौं, केबल इमान्दार प्रयास मात्रै गर्छौं’,‘हिंसा समस्या हो, समाधान होइन, ‘विदेश पलायन हुन बाध्य नपार’जस्ता पम्लेट बोकेका छन्।

भदौ २७ गते हेटौँडामा रहेको सञ्चो अस्पतालका चिकित्सक डा। विकास थापा र डा। प्रशान्त विडारीलाई बिरामीको उपचार गरिरहेको बेला साङ्घातिक आक्रमण गरिएको थियो। डेङ्गी सङ्क्रमण भएपछि थप उपचारका लागि सञ्चो अस्पतालबाट चिकित्सकहरुले चितवन ‘रिफर’गरिएको र उपचारका क्रममा बिरामीको यही साउन २५ गते निधन भएपछि सञ्चो अस्पतालमा कार्यरत चिकित्सकद्वयलाई आक्रमण गरेका थिए। सोही विषयलाई लिएर घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै नेपाल चिकित्सक संघको आह्वानमा सेवा बन्द गरिएको हो।

‘नेपाल चिकित्सक संघबाट भाद्र २७ गते ७२ घण्टाको अल्टिमेटम दिई दोषीहरूलाई कानूनी कारवाही गर्न माग गरिएको थियो। सो घटनाका सम्बन्धमा नेपाल सरकारले सम्पूर्ण दोषीहरूलाई कानूनी दायरामा नल्याएको हुनाले नेपाल चिकित्सक संघ बाध्यताबस भाद्र ३१ गतेदेखि आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्न बाध्य भएको जानकारी गराइन्छ’, संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

आन्दोलनरत चिकित्सकहरुले हातमा कालो पट्टी र पम्लेट, ब्यानरसहित विरोध गरिरहेका छन्। आज अस्पतालमा बिरामी टिकट लिन र उपचार गराउन लाइन भएपनि टिकट काटिएको छैन। उपचार गराउन पुगेका सेवाग्राही उपचार नपाउँदा सरकारप्रति आक्रोशित बनेका छन्।