भूकम्पले सयौं मान्छेको मृत्यु हुँदा रमिते बन्न पुगे ठूलाठालू

व्यंग्य

मध्यरात जमीन थर्रथरी कापिरहन्छ । मस्त निन्द्रा छन् मान्छेहरु । सातै बजे ओछ्यानमा पुग्ने गाउँहरुलाई बत्ति दिन कन्ज्यूँसाई गरेका छन् कुलमानले । अहिले हैन उहिलेदेखि । विजुली पोल हाल्दा सिन्दुरे जात्रा गर्ने गाउँलेहरुले राती १० बजेदेखि जुन र चन्द्रमा कै उज्यालो भर पर्नु पर्ने थियो । यो शुक्रबार भन्ने बार पनि कस्तो कस्तो ! अन्ठाउन्नको जेठ १९ गते दरबार रक्तरञ्जित गरेको थियो । अहिले फेरि उही शुक्रबार माटा घरभित्रै सयौं पुरिन पर्यो । मध्यरातमा उज्यालो भईदिएको भए पनि बाँच्न सक्थे नि धेरै मान्छे रंगवीर काका भन्दै थिए ।

‘क्या अर्छौ, दिन आया पछि कसको क्या लाग्न्या रैछ र’ । उता इजरायलमा पनि उही शुक्रबारको राती नै हमासले धमास गरिँदिँदा १० जना नेपालीले ज्यान गुमाउनु परेको थियो । यता त घरले पनि थिच्यो भाग्यले पनि थिच्यो ।

रंगवीर काका आँखाभरी आँशु गर्दै बन्चराले चिरेर आधा पारेको दाउराको चिर्कटो जस्तै बनेको घर देखाउँदै भन्दै थिए । ‘ऊऽ त्यहाँ हेर यस्तो हरिविजोग भएको छ । पछाडिको झ्यालबाट हाम्फालेर बाँचे । तर अरुलाई गुहार लगाउँदै लगाउँदै सवैलाई थिचिगो । उनी भक्कानि थाले ।

एक दुई कान मैदान भने जस्तै भूकम्पले त्यहाँ मात्र हल्लाएको थिएन ! धेरै जिल्ला हल्लाको थियो । कति सुतेर बसे, कतिले पत्तै पाएनन् कति ज्यान जोगाउने ओछ्यान छाडेर भागाभाग पनि गरेका थिए । मध्यरातदेखि नै सामाजिक सञ्जाल रंगिन थालेको थियो । मिसकल, झट्का, माया कुन्नी के के अनेकर्थमा ।

‘अगुल्टाले हानेको कुकुर विजुलीदेखि पनि तर्सन्छ’ भने जस्तै ७२ ले सवैलाई सताएको थियो । केही हप्ता अगाडि मात्र बझाङ्गलाई जिस्काएको थियो । पटक पटक झट्का दिई नै रहेको थियो । अहिले हल्लेको हल्लै गरिरहेको छ । शनिबार विहानै ‘गाईने किरा’ जस्तै गरी हेलिकप्टर आकाशमा फन्को मार्दै थियो । हरियो किराले फन्को मारेपछि गरिव जनतामा आशा त थियो । हरेकका घर बारीमै मिलेको थियो । सग्ला घर देखिन मुश्किल नै थियो ।

भूँइ हल्लिएर प्यालेस्टाइनको गाजा जस्तै देखिने गरी ध्वस्त भएका माटाले बनेका ती घरहरु भत्किएर धुलाम्मै थियो । धूलो उडिनै रहेको थियो । गाजामा इजरायलले प्रहार गरेको रकेटले निस्किएको धुँवाको मुश्लो जस्तो ।

देशमा संकट आईपर्दा मन नदुख्ने को नै हुन्छ । पहिरोले पहाड भत्काउँदै तराईलाई निकै पीडा हुन्छ । तराईलाई बाढीले डुबाउँदा पहाडमा आँशु झर्छ । शनिबार विहानै मट्याङ्गग्रोले प्रविधिको प्रयोग गर्न किन छाट्थ्यो र ? उता रंगवीर काकाहरुको अवस्था जान्न चाहिरहेको थियो । उता मुग्लानबाट आउँदा उपहार पाएको हावा चिठ्ठी (स्मार्ट फोन) मा नम्वर दवाउन थाल्यो ।

रंगवीर काकाहरुले नै चुनाउमा जिताएर पठाको अनि परऽदेशको अर्थमन्त्री पनि भाका बेदराज सिंहको हावा चिठ्ठीले एकै पटकमा उत्तर दिईहाल्यो ‘हजुर मर्जी होस्, यहाँ त विजोग छ ।’ अरु बोल्न सक्ने आँट मट्याङ्गग्रालाई पनि आएन । उत्तर दियो, सुरक्षित भएर सेवा गर्नु । विपद्ले यो मेरो यो तेरो पनि भन्दैन । को ठूलो को सानो पनि भन्दैन । दैवि प्रकोप र विपदबाट क्षति न्यूनिकरण गर्ने हो जोखिमबाट बच्ने हो । उताबाट उत्तर आयो । हस हजुर धन्यवाद ।

मान्छेले अरु त के नै गर्न सक्छ र ? ‘दिएर आफ्नो, खौरिएर मसिनो’ कहाँ हुने हो र ? सवै भन्दा ठूलो कुरा त मन नै हो नि । धन जति नै ठूलो भएपनि मन सानो छ भने के काम लाग्ने रैछ र ?

रंगवीर काकाका गाउँमा अहिले ‘टुरिष्ट’ धमाधम गईरहेका छन् । बहत्तर सालमा गोर्खादेखि सिन्धुपाल्चोकसम्म जानेहरु पुगेका छन् कि छैनन् थाहा छैन । दुईचारवटा विस्कुट र चाउचाउका पोका वोकेर सामाजिक सञ्जालमा छाउने टुरिष्टहरुलाई रोक्नु पर्दछ ।
जहाँका नागरिकहरुको गाँस, वास र कपास नै सकिएको छ त्यहाँ टुरिष्ट होइन राज्य सत्ताले नै चाँजो पाँचो मिलाउने हो । पीडितको आँशु पुछ्ने काम गर्ने हो । तर अहिले त्यस्तो छैन । विपद्का बेला धेरैको कमाउने मेलो बन्ने गरेको छ । मट्याङ्गग्राले रंगवीर काकालाई त्यही भनेका छन् । चुनाउ जितेर जानेलाई पनि त्यही सुझाएका छन् । मान्ने पो कसले हो र ?

लाखौं खर्चिएर गाईने किरा चढेर टुरिष्टहरु जानु भन्दा गाइने किरा चढ्ने फजुल खर्चले चिसो सिरेटोबाट बच्न न्यानो कपडा पठाईदिए हुन्न र ? आफै जानै पर्ने हो र ? के त्यहाँ राज्यको कुनै अंग छैन र भएभरका टुरिष्ट जानु पर्ने ? तँ पहिला की म पलिहा भन्ने बेला हो र ? पक्कै पनि हुँदै होइन । यो त संकटको बेला हो । उद्धारको समयमा हो त्यसपछि राहतका अनि विकास कुरा होला नि ?

रंगवीर काका भन्दै छन्, कत्ति कष्टले बनाएको त्यो घर एकै छिनमा स्वाहा बनाईदियो । अव के गर्ने ? कसरी बनाउने ? मट्याङ्गग्राको बोली फुट्न सकेको छैन । बहत्तरमा यसै गरी ध्वस्त भएका घरहरु अहिलेसम्म बनेका छैनन् तपाईको के बन्ला र रंगवीर काका भन्न पनि सकिरहेको छैन !

विदेशबाट आएका टुरिष्टदेखि स्वदेशका टुरिष्टले हल्ला खल्ला धेरै गरे तर, पीडितको आँशु चुहिएको चुहिँएै । बहत्तरकाले समेत एउटा टेको लगाउन सकेका छैनन । तर तिनै पीडितको आँशु देखाएर आएको अवौं रुपैयाँ खै कसको ढुकुटीमा गएर भरियो ? दामासाही गरेर बाँढेको भएपनि सवैका घर हुन्थे । तर उही गाईने कीरा चढ्ने र तारे होटलमा छल गरेर फल खानेहरुले नै सत्यानाश पारिदिए ।

धेरैको कथा एउटै छ । व्यथा उस्तै छ । मन चकमन्न छ । बोल्नेको पीठो विक्ने, नवोल्नेको चामल पनि नविक्ने गतिछाडा व्यवस्थामा कसले पो न्याय पाउँछ र ? पीडितको आँशु पुछ्ने होइन त्यही आँशुलाई बेचेर खानेहरुकै चकाचक छ । भूकम्प, टुरिष्टहरुले पीडितको आँशुमा अझै आँशु बढाउने काम पो गर्दै छन् कि ? त्यसै उ बेलामा भनिएको हैन रहेछ, ‘दुखिको घरमा मात्र तेरो बास हुने भए, हे इश्वर मलाई अझ दुख दे ’ !  – वैकुण्ठ भण्डारी