नेवार दिवस सम्पन्न

काठमाडौं । आज चैत्र १४ गते, चिल्लाथ्व चतुर्दशी अर्थात् विश्व नेवार दिवस देशभर विविध कार्यक्रम गरी मनाइएकाे छ ।

यसैबीच काठमाडौंको बसन्तपुरमा विशेष कार्यक्रम गरी चौथो विश्व नेवार दिवस मनाइएको छ । चौथो विश्व नेवार दिवस आयोजक समितिका अनुसार कोभिड महामारीका कारण गत वर्ष हुन नसकेको विश्व सम्मेलन पनि आजै आयोजना गरिएको छ ।

सम्मेलनमा विश्वभर छरिएर रहेका नेवारहरुको सहभागिता रहेको थियो । नेपाल भाषा साहित्य क्षेत्रमा विशेष योगदान दिने नेवार पुर्खाहरुको तस्विर प्रदर्शनी, नेवार खानाका स्टल, विभिन्न प्रख्यात कलाकार र संघसंस्थाबाट सांस्कृतिक कार्यक्रम पनि कार्यक्रममा प्रस्तुत गरिएको छ ।

सम्मेलनमा नेवार समाज र नेपाल भाषाको विकासका लागि विशेष योगदान दिने विशिष्ट व्यक्तिहरुलाई सम्मान गरिएको छ । सम्मेलनमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य लागायतको उपस्थिति रहेको थियो ।