सबैभन्दा अन्याय मलाई भयोः प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिलाई अदालतले बदनाम गराएको आरेप लगाएका छन् । बृहत् नागरिक आन्दोलनले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीको डबलीमा शनिबार आयोजना गरेको कार्यक्रममा नागरिकका सवालको जवाफ दिँदै प्रचण्डले राजनीतिमा सधैं सोचेजस्तो नहुने कारण बाङ्गो बटो पनि अपनाउनपर्ने बताएका छन्।

नेकपाको ७० प्रतिशत बहुमतबाट गरिएको निर्णय निर्वाचन आयोगले कार्यान्वयन नगरिदिँदा आफूहरुलाई अफ्ट्यारो परेको उनले टिप्पणी गरे। निर्वाचन आयोग सेटिङमा चलेको उनले आरोप लगाए। उनले भने, ‘निर्वाचन आयोग सेटिङमा रहेको बुझिएको छ।’

पटक–पटक बहुमतले निर्णय गरेको आयोगमा जाँदा पनि आफूहरुको कुरा नसुनिएको उनले बताए। अदालतको फैसलाबाट सबैभन्दा बढी आफूलाई अन्याय भएको हुँदा जनताले फैसला गरिदिनुपर्ने उनले बताए। प्रचण्डले भने, ‘सबैभन्दा ठूलो अदालत जनअदालत हो। तपाईंहरु न्यायाधीश हो। तपाईंहरुले फैसला गरिदिनुपर्‍यो। सबैभन्दा अन्याय मलाई भयो।’

अदालतले दिउँसै रात पारेको उनले टिप्पणी गरे। उनले हँसाउँदै अदादतले जन्म लिएको बच्चालाई फेरि आमाको कोखमा हालिदिएको बताए । नागरिकले जे भन्छन् आफूले त्यही मान्ने उनको भनाइ छ।