लोकतान्त्रिक अभ्यासमा ओली सरकारले प्रहार गर्याे : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक अभ्यासमा ओली सरकारले प्रहार गरेकाे बताएका छन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवारका लागि बोलाएको संवैधानिक परिषद्को बैठकमा आफू सहभागी नहुने पनि कांग्रेस सभापति शेरबहादुर देउवाले स्पष्ट पारेका छन्। आज एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले भनेका छन्, ‘संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने स्पष्ट गर्न चाहन्छु।’

अध्यादेशमार्फत संवैधानिक परिषद्सम्बन्धी ऐनको संशोधन गर लोकतान्त्रिक अभ्यासमा ओली सरकारले प्रहार गरेकोले अन्य सदस्यलाई समेत भाग नलिन देउवाले आग्रह गरेका छन्। ‘संवैधानिक परिषद् सम्वन्धि ऐनमा अध्यादेश मार्फत संशोधन गर्ने सरकारको काम संविधानको भावना विपरित, संसदीय मुल्य, मान्यता प्रतिकुल र लोकतान्त्रिक अभ्यासमा समेत प्रहार हुने भएको हुदा उक्त बैठकमा भाग नलिन परिषद्का अन्य सबै सदस्यहरुलाई समेत आव्हान गर्दछु,’ देउवाले भनेका छन् ।

वर्तमान सरकारले संवैधानिक परिषद्को मर्यादा र गरिमालाई समाप्त गर्ने यसको कार्य क्षेत्रलाई संकुचित गर्ने गरि पटक–पटक संघीय संसदलाई छलेर अध्यादेश जारी गरी संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐनलाई संशोधन गर्ने अनुचित कार्य गरेको देउवाले बताएका छन्। नेपाली काँग्रेसले प्रारम्भ देखिनै उक्त कार्यको विरोध गर्दै आएको छ।