‘नागरिकलाई भाइरस संक्रमणबाट जोगाउन सरकारले अधिकतम प्रयास गरेकाे छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई भाइरस संक्रमणबाट जोगाउन सरकारले अधिकतम प्रयास गरिरहेको बताएका छन् । उनले कोभिड-१९ विरुद्धको लडाइमा नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रहसमेत गरेका छन् । अमेरिकी टेलिभिजन सीएनएनलाई शनिबार विशेष अन्तर्वार्ता दिँदै ओलीले राष्ट्रसंघ लगायतका निकायलाई मद्दतका लागि आग्रह गरेका हुन् ।  भाइरस नियन्त्रणका लागि निषेधाज्ञा लगायतका प्रतिबन्धहरु लागु गरिएको बताउँदै प्रधानमन्त्री ओलीले अहिलेसम्म नेपालको परिस्थिती नियन्त्रणमा रहेको समेत बताए ।

 

गतमहिना राजधानी काठमाडौंमा भएका राजनीतिक प्रदर्शन, सभा र जुलुसहरु गर्नु गलत भएको बताउँदै प्रधानमन्त्रीले दलबाट हेलचक्र्याइँ भएको समेत स्वीकार गरे । ‘ती प्रदर्शन राजनीतिक भएपनि सामाजिक समस्या थियो’ उनले भने, ‘केही गल्ती भयो राजनीतिक दलहरुबाट । हेलचक्र्याइँ भएकै हो ।’ भाइरसबाट जोखिम वर्गलाई जोगाउन सरकारले अधिकतम प्रयास गरिरहेको समेत उनले जनाए । सरकारको प्रयासको कारण पनि मृत्युदर १ प्रतिशतभन्दा तल सीमित रहेको ओलीको भनाई थियो ।