सौरभको लेखमा माधव लामिछानेका प्रतिप्रश्नहरू

पौरस्त्य वाङ्मय, परम्परा र संस्कृतिप्रति श्रद्धा राख्ने, निर्भीक लेखक सौरभले वाल्मीकि विद्यापीठका गुरुहरूप्रति लक्ष गर्दै केही प्रश्नहरू पनि राखेर कान्तिपुरमा लेखेको लेखले पटक्कै नझक्झक्याउने व्यक्ति संस्कृत वाङ्मयलाई माया गर्ने हुन सक्तैन । उहाँले वाल्मीकि विद्यापीठका गुरुहरूबाट धेरै कुराको अपेक्षा गर्नुभएको रहेछ । यो हाम्रा लागि डरको विषय होइन, गर्वको विषय बन्नुपर्छ । उहाँले वाल्मीकि विद्यापीठको नाम लिए पनि उहाँको प्रश्न पूरै नेपाल संस्कृत विश्वविद्यालयप्रति लक्षित हो भन्ने कुराचाहिँ भुल्नु हुँदैन तर विडम्बना, यहाँभित्र उहाँको प्रश्न केवल वाल्मीकिका गुरुहरूप्रति लक्षित हो भनेर बुझ्ने र वाल्मीकिका गुरुहरूलाई यस्तो जटिल प्रश्न तेर्स्याइदिएको भनेर रमाउने सङ्कीर्ण व्यक्तिहरू नभएका होइनन् । हो, यहाँभित्र आफूलाई “वाल्मीकि विद्यापीठको गुरु हुँ” भनेर चिनाउनुभन्दा बल्खुमा “मेरो तरकारीको होलसेल पसल छ” वा “अशनमा मेरो कपडा पसल छ” भनेर चिनाउँदा गर्व गर्नेहरू नभएका होइनन् । फेसबुक प्रोफाइल चेक गर्ने हो भने वाल्मीकि विद्यापीठ वा नेपाल संस्कृत विश्वविद्यालयसँग आफ्नो सम्बद्धता रहेको देखाउन नचाहने पनि भेटिन्छन् तर सौरभजस्ता लेखकले सामान्यीकरण गरेर सबैलाई उस्तै देख्नु र यति महत्त्वपूर्ण लेख लेख्नुपूर्व वाल्मीकि विद्यापीठ र नेपाल संस्कृत विश्वविद्यालयको वर्तमान परिस्थिति, साधनसम्पन्नता वा असम्पन्नता आदि विषयको राम्रो खोज गर्नुपर्थ्यो । हामीप्रति प्रश्न उठिसकेपछि त्यसको रचनात्मक जबाफ दिनु आफ्नो कर्तव्य सम्झँदै केही प्रतिप्रश्न र उहाँसँग सहकार्यको प्रस्ताव पनि राख्न चाहन्छु ।
१. विश्वविद्यालय केवल कक्षाकोठाभित्र पठनपाठनमा मात्र सीमित हुने संस्था होइन, त्यहाँ त विभिन्न विषयमा अनुसन्धानका गतिविधिहरू ( विद्यावारिधि उपाधि दिनेमात्र होइन), राष्ट्रिय तथा अन्ताराष्ट्रिय विद्वद्गोष्ठीहरूमा विद्वान्हरूको आदानप्रदान, पुस्तक प्रकाशन आदि हुनुपर्छ । यो काम अध्यापकको प्रयासले मात्र सम्भव छैन तर यहाँ के कति कारणले त्यस्ता गतिविधिहरू हुन सकिरहेका छैनन् ? यस विषयमा पनि खोज गर्ने कि?
२. ज्यौतिष, तन्त्र, आयुर्वेद, सामवेद, अथर्ववेद आदिमा रहेको ज्ञानभण्डारको अनुसन्धानका लागि साधनसम्पन्न वेधशाला, उपयुक्त वातावरणसहितको तन्त्रसाधना-केन्द्र, उपकरणसम्पन्न आयुर्वेद प्रयोगशाला, सामगानशाला, अथर्वानुसन्धान-केन्द्रको आवश्यकता पर्दछ । विश्वविद्यालयमार्फत यस्ता केन्द्रहरूको स्थापनामा कसैबाट पहल हुन सक्छ?
३. वाल्मीकि विद्यापीठका अध्यापकहरूले पढाउने कोठाको अभावमा चौरमा पढाउनुपर्ने बाध्यता छ, विभागका लागि कोठा माग गर्दा सङ्घर्ष गर्नुपर्ने र कोठा पाइहाले पनि कुर्सी, टेबुलरहित कोठामा चित्त बुझाउनुपर्ने अवस्था छ, पुस्तकालयको दुरवस्था छ, क‌ैयौँ हस्तलिखित ग्रन्थहरू कुहिएर नासिने अवस्था छ, सुविधासम्पन्न वाल्मीकि विद्यापीठ बनाउन राज्यले किन पहल गर्दैन ?
४. यी सबै कुराको प्राप्तिका लागि विद्यानिष्ठ, पौरस्त्य वाङ्मयका बारेमा राम्रो ज्ञान भएको, विश्वविद्यालयलाई राम्रो बनाउने दूरदृष्टि भएको, योग्यतालाई राजनीतिको तराजुमा नजोख्ने, आफ्नो एउटा राजनीतिक विचार भए तापनि नेतृत्व प्राप्त गरेपछि म सबैको हुँ भन्न सक्ने र व्यवहारमा पनि त्यस्तै उदार नेतृत्व विश्वविद्यालयलाई चाहिन्छ, नेपाल सरकारलाई भनेर यस्तो नेतृत्व नेपाल संस्कृत विश्वविद्यालयलाई दिलाइदिन कसले भूमिका निर्वाह गर्नुपर्ने हो?
सौरभजी! मेरा प्रश्नहरूको समाधान तपाईँसँग छ भने आउनुहोस्, सहकार्य गरौँ । पौरस्त्य वाङ्मय तपाईँको पनि हो, यो ज्ञानबाट फाइदा लिन सकियो भने वाल्मीकिमा पढाउने गुरुहरूको मात्रै हित हुने होइन, सबैको हुनेछ । शिवमस्तु ।  माधव लामिछाने वाल्मीकि विद्यापीठका उपप्राध्यापक हुन् । याे लेख उनकाे फेसबुकबाट सभार गरिएकाे हाे ।