सर्वोच्च भन्छ, अर्जुन लामाको हत्या अभियोग लागेका सभामुखको मुद्दा हेर्न मिल्दैन

काडमाडाैं । सर्वोच्च अदालतले सुनुवाइका लागि संवैधानिक इजलासमा पेसी तोकिएको सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’ भनेको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासमा मुद्दाको सुनुवाइका लागि पेसी आज तोकिएको थियो।

स्वार्थ बाझिने वा यसअघि सोही मुद्दा हेरेको भए त्यस्तो अवस्थामा अदालतले ‘हेर्न नमिल्ने’ भन्ने गरेको छ।

गत वैशाख ८ मा पनि प्रधानन्यायाधीश जबरा नेतृत्वको संवैधानिक इजलासमा मुद्दाको सुनुवाइका लागि पेसी तोकिएको थियो। त्यसबेला भने ‘हेर्न नभ्याइने’ भनेको थियो।

काभ्रेकी पूर्णिमाया लामाले आफ्ना पति अर्जुन लामाको हत्याकाण्डमा सभामुख सापकोटा संलग्न भएको आरोप लगाउँदै २०६९ मंसिर ८ गते सापकोटाविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएकी थिइन्।

त्यसयता तत्कालीन न्यायाधीश वैद्यनाथ उपाध्यायले जाहेरी परेको तीन दिनमै कारण देखाउ आदेश जारी गरेका थिए। त्यसपछि भने २०७० जेठ ६ मा तत्कालीन न्यायाधीशद्वय कल्याण श्रेष्ठ र प्रकाश वस्तीले मिसिल साथै राख्न आदेश दिएका थिए।

२०७० असार १९ मा तत्कालीन न्यायाधीशद्वय सुशीला कार्की र तर्कराज भट्टले पनि मिसिल झिकाउन आदेश दिएका थिए।