काठमाडौँ । दोलखाको गौरीशङ्कर गाउँपालिका ३ झ्याकुका एक युवकको शङ्कास्पद मृत्यु भएको छ । नेपाली कांग्रेस वडाध्यक्षमा उम्मेदवारी दिएका दिलबहादुर बस्नेतका छोरा २४ वर्षीय यानबहादुरको शङ्कास्पद मृत्यु भएको हो ।
मङ्गलबार बेलुकादेखि सम्पर्कविहीन भएका यानबहादुर घर नजिकै आज बिहान मृतावस्थामा फेला परेको स्थानीयवासी जिपछिरिङ शेर्पाले बताएका छन् । घटनास्थलमा प्रहरी टोली पुगेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको दोलखा प्रहरी प्रमुख गङ्गा पौडेलले बताएका छन् । मृतक बस्नेतका बुबा स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षको उम्मेदवार बनेको थियो ।
झ्याकुस्थित मानेडाँडा माविमा कार्यरत यानबहादुर काम सकेर साँझ ६ः३० बजे घरबाट निस्किएका र अबेरसम्म पनि घर नफर्किएपछि स्थानीय तथा आफन्तले खोजीकार्य जारी राखेका थिए । मङ्गलबारदेखि बेपत्ता भएका यानबहादुर आज बिहान झ्याकुस्थित सर्सेपु विद्यालय नजिकैको जङ्गलमा मृत फेला परेको प्रहरीले जानकारी गराएको छ ।
Add Comment