काठमाडौँ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले अध्यक्ष पदबाट राजीनामा दिएको छ । उनले गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीको निरासाजनक परिणाम आएको कारण अध्यक्ष पदबाट आज राजीनामा दिएको हो ।
विगत ५ वर्षको समयमा तन, मन र धनले भ्याएसम्म पहिले संयोजक र पछि अध्यक्षका रुपमा निःस्वार्थ र इमान्दार प्रयास गर्दागर्दै निर्वाचनमा निरासाजनक परिणाम आएकाले पार्टी अध्यक्षको पदबाट नैतिकताको आधारमा राजीनामा दिएको छु, आगामी दिनमा पार्टीको साधारण सदस्यमात्र रहिरहनेछु, विज्ञप्तिमा भनिएको छ ।
मिश्रले आफ्ना पार्टीका उम्मेदवार इमान्दार र सक्षम हुँदाहुँदै पनि राम्रो नतिजा हासिल गर्न नसक्नुको जिम्मेवारी आफूले लिने स्पष्ट पारे । बाराको एक स्थानीय तह र दुई वडामा आफ्नो पार्टीका उम्मेदवार विजयी हुनु उम्मेदवारकै लोकप्रियताले भएको सो पार्टीले बताएका छन् ।
उनले विवेकशील साझाले उठाएका प्रमुख मुद्दा र नारा आजभोलि धेरै पार्टी र तिनका नेताहरूले उठाउन र बोल्न थालेको बताउँदै विवेकशील साझाले उठाएका प्रमुख मुद्दा सम्बोधन नगरेसम्म देशको रुपान्तरण सम्भव नहुने समेत बताए । अध्यक्ष मिश्रले विगत ५ वर्षमा पार्टी प्रतिकूल अवस्थामा हुँदा पनि कति विचलित नभई पार्टी निर्माणमा दृढताका साथ लागिरहने नेता तथा सदस्य आफ्नो पार्टीलाई आर्थिक, नैतिक र भौतिकरूपमा सहयोग गर्ने नेपालभित्र र बाहिर रहेका सम्पूर्ण शुभेच्छुकलाई धन्यवाद दिएका छन् ।
Add Comment