काठमाडौँ । म्याग्दीको बेनी नगरपालिका ३ तोराखेतको बस्ती अहिले सुनसान भएको छ । केहीवर्ष अगाडिसम्म निकै चहलपहल हुने तोराखेत गाउँ अहिले झाडीमा परिणत हुन थालेको छ । उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिकामा पर्ने रायखोर गाउँको अवस्था पनि यस्तै छ । गाउँको पुछारमा भीषण पहिरो गएको छ । शिरान र गाउँको छेउछाउबाटसमेत पहिरो खस्न थालेपछि यो गाउँका कतिपय मानिस विस्थापित भएका छन् भने गाउँमा रहेका पनि पानी पर्दा अनिदा आँखा बनाउँदै बस्न बाध्य भएका छन् ।
रघुगङ्गा गाउँपालिकाका ८ वडामा साना ठूला गरी २ सय १६ पहिरा रहेका र ती पहिराका कारण बस्ती नै जोखिममा परेका छन् । पहिरो रोकथाम तथा नियन्त्रणका लागि पहिरोको डिपीआर गरी राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा पठाइएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । गाउँपालिकाका कुइनेमङ्ले–८ चौरखानी, चिमखोला–७ मालाङ, पाखापानी–६ रायखोर र दग्नाम–४ को पहिरो रोकथामलाई मुख्य प्राथमिकतामा राखिएको अध्यक्ष भण्डारीले जानकारी दिइएका छन् ।
रघुघाट गलेश्वर, तिलकेनी, कुइने, चौरखानी, धूपीचौर, अर्कला, बेग, दुलेपानी, सतिपोखरी, खौरेट, रोटेपानी, रिसिनचौतारी, बूडिचौरलगायतका बस्ती बाढीपहिराको उच्च जोखिममा छन् । ती बस्तीको संरक्षणका लागि स्थानीय तहले प्राथमिकताका साथ काम गर्ने र थप बजेटका लागि प्रदेश वा सङ्घ सरकारसँग माग गर्ने अध्यक्ष भण्डारीले जानकारी दिइएका छन् । गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक निर्माणमा गरिएको लापबाहीले निम्तिएको पहिरोले पुरिने जोखिम बढेको हो । बस्तीमाथिको पाखोमा जथाभावी सडक खनेपछि पहिरो निम्तिएर गलेश्वरपारिको ३० घरपरिवार जोखिममा रहेको स्थानीयवासी धर्म रोकाले बताए ।
बेनी नगरपालिका– ३ को तोराखेत गाउँ पनि पहिरोका कारणले रित्तिएको छ । एक दशक अघिसम्म ७० घरपरिवारको बसोबास रहेको तोराखेतमा अहिले १० घर परिवारको मात्र बसोबास रहेको छ । विसं २०६० देखि तोराखेतमा पहिरो चल्न सुरु भएको स्थानीय अगुवा डिलबहादुर सापकोटाले बताए ।
पहिरोकै कारण तोराखेतबाट विस्थापित भई बगरफाँटमा बस्दै आउनुभएका सापकोटाका अनुसार त्यसपछि लगातार रुपमा पहिरो चल्दै आएकोले तोराखेतका बासिन्दा भकुण्डे, फाँपरखेत र बगरफाँटमा बसाइँ सरेका छन् । पहिरोले त्रासकाबीच पनि आफू गाउँमै बस्न बाध्य रहेको स्थानीयवासी कुन्दा परियारले बताए ।
“पहिले गाउँमा धेरै घर थिए, मान्छेहरु पनि धेरै नै बस्ने गर्थे, पहिरोका कारण धेरैको धन सम्पत्ति नोक्सान भयो, अहिले पनि गाउँ जोखिममै छ”, परियारले भने, बस्ती माथिबाट बिना इञ्जिनीयरिङ खनिएको सडकका कारण बस्ती नै पहिरोको उच्च जोखिममा परेको स्थानीयवासीको गुनासो छ ।
Add Comment