काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापाका अग्नि पाण्डेसँग भेट गरेका छन्।
कम्बोडियाको ग्राण्ड डायमण्डसिटी क्यासिनोमा भएको आगलागीमा परी गत बिहीबार राति पाण्डेका छोरा निराकारको निधन भएको थियो । प्रधानमन्त्रीले आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाइ अग्निसँग भेट गरेको हो ।
प्रधानमन्त्रीसँगको भेटमा अग्निले छोराको अप्रत्यासित निधनले आफूहरू स्तब्ध भएको जनाउँदै सरकारले देखाएको चासो एवं जिम्मेवारीवोधप्रति धन्यवाद व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले निराकारको निधनप्रति दुःख व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेकाे छ । प्रधानमन्त्रीले निराकारको शव स्वदेश ल्याउन र परिवारलाई सरकारको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै धैर्यधारण गर्न आग्रह गरेको प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
सो अवसरमा उपप्रधानमन्त्रीत्रय विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने र सरकारका मुख्यसचिव शङ्करदास वैरागीलगायतको उपस्थिति थियो । प्रधानमन्त्री प्रचण्डले यसअघि नै मुख्यसचिवमार्फत निराकारको शव स्वदेश ल्याउने प्रक्रिया अगाडि बढाउन निर्देशन दिइसकेकाे छ ।
Add Comment