अध्यादेशको पक्षमा कांग्रेस  : ससदभित्र र बाहिर एकढिक्का भई प्रस्तुत हुने

फाइल तस्बिर ।

नेपाली कांग्रेसभित्र अध्यादेशको पक्षमा एक मत बनेको छ ।सिंहदरबारस्थित दलको कार्यालयमा शनिबार भएको छलफलमा सदनभित्र र बाहिर अध्यादेशको पक्षमा एक भई प्रस्तुत हुने निर्णयले कांग्रेसमा एकमत बनेको हो ।

आफ्ना मन्त्रीहरूलाई यही माघ १८ गतेबाट सुरु हुने सदनमा एकढिक्का भएर प्रस्तुत हुन पनि निर्देशन दिइएको छ । पार्टी सम्मिलित सरकारले ल्याएको अध्यादेशको पक्षमा फरकफरक धारणा नबनोस् भनेर  नेतृत्वले निर्देशन दिएको प्रमुख सचेतक श्याम धिमिरेले बताए ।साथै बैठकमा संसद्मा प्रस्तुत हुने विधेयक,अध्यादेश र आउँदै गरेका विधेयकबारे  छलफल भएको  उनले बताए ।

बैठकले अध्यादेश वर्तमानको बाध्यात्मक आवश्यकता रहेको स्पष्ट पारेको छ ।कांग्रेसकै धेरै जसो नेताले संसद् छलेर अध्यादेश ल्याएको भन्दै आफ्नै सरकारको समेत विरोध गरेका थिए ।  छलफलमा कृषिमन्त्री रामनाथ अधिकारी र स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पनि आआफ्ना मन्त्रालयका कार्यप्रगतिबारे जानकारी गराएका थिए ।