टोखा गोलीकाण्ड : लाल मोहम्मद हत्या प्रकरणका सुटर पक्राउ

काठमाडौं – काठमाडौंको टोखामा प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको गुड्डु पटेल भारतीय नागरिक भएको खुलेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिन ४ राउण्ड गोली चलाएको थियो।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतका अनुसार, पक्राउ परेका पटेललाई खुट्टामा गोली लागेको छ र उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

२०७९ असोज ३ मा काठमाडौंको गोठाटारमा भएको लाल मोहम्मद हत्यामा गुड्डु पटेल सुटरको भूमिकामा रहेकाे प्रहरी अनुसन्धानबाट खुलेको छ। मोहम्मदको हत्या गर्ने क्रममा दुई जनाले गोली प्रहार गरेका थिए, जसमा गुड्डु पटेल एक हुन्।

यसअघि, २०८१ वैशाख १७ मा पर्साको वीरगन्जबाट हत्याका योजनाकार बब्लु पासवान पक्राउ परेका थिए। अनुसन्धानका अनुसार, पासवानले मोहम्मदको गतिविधि निगरानी गराएर सुटर परिचालन गरेका थिए।

प्रहरी अनुसन्धान अनुसार, बौद्धस्थित एक होटलमा बसेर भारतीय महिला ममता तिवारी ‘मेरिन’ र मकवानपुरकी सुस्मिता स्याङ्तानले लाल मोहम्मदको गतिविधि निगरानी गरेका थिए। ममता तिवारी ९ वर्ष लागुऔषध मुद्दामा जेल बसेर छुटेकी थिइन्।

निगरानीपछि मोहम्मदको हत्या गर्न सुपारी किलर पठाइएको थियो। प्रहरीका अनुसार, पासवानले भारतबाट हतियार पठाएर सुटर परिचालन गरेका थिए।लामो अनुसन्धानपछि प्रहरीले हत्यामा संलग्न गुड्डु पटेललाई पक्राउ गर्न सफल भएको छ। यसअघि, प्रहरी सुस्मिता स्याङ्तान, महोरम मियाँ (२१) र रेहान मियाँ (१९) लाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ।

प्रहरीको निष्कर्षअनुसार, पासवानले सुपारी लिएर मोहम्मदको हत्या योजना बनाएको र आवश्यक जनशक्ति तथा हतियार व्यवस्थापन गरेको थियो। यस घटनामा संलग्न थप व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।