काठमाडौँ प्रहरीले मोबाइल चोरीमा संलग्न सात जनालाई पक्राउ गरेको छ। भक्तपुरको जगातीस्थित एक मोबाइल रिपेयरिङ सेन्टरमार्फत चोरीका मोबाइल बिक्री वितरण हुँदै आएको खुलेपछि प्रहरीको अनुसन्धानले उनीहरूलाई पक्राउ गरेको हो।
कोटेश्वर क्षेत्रमा यात्रुको मोबाइल चोरी भएपछि अनुसन्धान अघि बढाएको प्रहरीले भक्तपुरमा रहेको सरोज मोबाइल रिपेयरिङ सेन्टरमा खानतलासी गर्दा २७१ वटा विभिन्न कम्पनीका मोबाइल, ९ वटा ट्याब र १५ वटा ल्यापटप बरामद गरेको छ।
पक्राउ पर्नेहरूमा काभ्रे, रौतहट, दोलखा, सिन्धुपाल्चोक, भक्तपुर, र काठमाडौँका २० देखि ३५ वर्ष उमेर समूहका व्यक्तिहरू रहेका छन्। प्रहरीका अनुसार उनीहरू लामो समयदेखि चोरीका मोबाइल किनबेच गर्दै आएका थिए। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ।

