नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकार दीर्घकालसम्म टिक्न नसक्ने दाबी गरेका छन्। उनले अप्राकृतिक रूपमा गठन भएको सरकारले राष्ट्र र जनताको पक्षमा काम गर्न नसक्ने तर्क प्रस्तुत गरे।
तराई–मधेश जागरण अभियान अन्तर्गत बाराको सिमरामा आयोजित जनसभामा बोल्दै प्रचण्डले आफ्नो नेतृत्वको सरकारलाई षड्यन्त्रपूर्वक ढालिएको आरोप लगाए। उनले भने, ‘सबै राम्रो काम भइरहेका बेला दलाल र बिचौलियाहरूले षड्यन्त्र गरेर मेरो सरकार गिराए र नयाँ सरकार बनाइयो। तर, यस्तो सरकार न टिक्न सक्छ, न त चल्न।
प्रचण्डका अनुसार वर्तमान सरकारको गठन भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई जोगाउन गरिएको हो। उनले भने, ‘मेरो सरकारले भ्रष्टाचारीहरूलाई सखाप पार्न खोज्यो, जसले गर्दा आत्तिएर नयाँ सरकार बनाइयो। तर, जनताले सत्य बुझिसकेका छन्, त्यसैले यो सरकार लामो समय टिक्ने सम्भावना छैन।’
पूर्वप्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वमा रहेको पछिल्लो सरकारले जनपक्षीय काम गरेको उल्लेख गर्दै विभिन्न महत्वपूर्ण पहलहरू अघि बढाएको बताए।
उनले भने, ‘हामीले भ्रष्टाचारविरुद्ध ऐतिहासिक अभियान सुरु गरेका थियौँ। सामाजिक न्यायका लागि काम गर्दै थियौँ। लाखौँ नागरिकलाई नागरिकता दिने प्रक्रिया अघि बढाएका थियौँ। मिटरब्याजपीडितका समस्या समाधान गर्न पहल गरिरहेका थियौँ। श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा समेट्ने काम गरिरहेका थियौँ। तर, यी सबै प्रयासलाई अवरुद्ध गर्न सरकार ढालियो।’
उनले हालको सत्ता गठबन्धन टिकाउ नहुने र चाँडै नयाँ राजनीतिक समीकरण बन्ने संकेत गरे।
Add Comment