यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबार बिहान ८ बजेबाट देशभरका २,०७९ परीक्षा केन्द्रहरूमा एकसाथ सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले परीक्षार्थीहरूलाई ढुक्क भएर परीक्षामा सहभागी हुन आग्रह गरेको छ। परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले परीक्षा सहज, व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गराउने व्यवस्था मिलाइएको जानकारी दिए।
परीक्षा सामग्रीहरू वितरण भइसके
बोर्डले परीक्षा सञ्चालनका लागि आवश्यक प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका लगायतका सामग्री पहिले नै सबै जिल्लामा पठाइसकेको छ। यस वर्ष ५,१४,०७१ परीक्षार्थी सहभागी हुनेछन्, जुन अघिल्लो वर्षको तुलनामा ४९,२८६ ले बढी हो।
सुरक्षा व्यवस्था कडा
परीक्षा निष्पक्ष बनाउन सुरक्षा प्रबन्ध कडा पारिएको छ। १५० भन्दा बढी परीक्षार्थी भएका केन्द्रहरूमा एक जना सहायक केन्द्राध्यक्ष रहनेछन् भने २० जना विद्यार्थी बराबर एक जना निरीक्षक तोकिनेछ। ७५ जनाभन्दा कम परीक्षार्थी भएको केन्द्रमा भने सहायक केन्द्राध्यक्षको व्यवस्था नहुने बताइएको छ।
विदेश र विशेष स्थानबाट पनि परीक्षा
यस वर्ष जापानस्थित एक परीक्षा केन्द्रबाट २९ विद्यार्थीले एसईई दिनेछन्। साथै, केन्द्रीय कारागार (काठमाडौं), दैलेखका दुई कारागार तथा भक्तपुरको बालसुधार गृहबाट पनि परीक्षा दिने व्यवस्था मिलाइएको छ। यसैगरी, कीर्तिपुरस्थित सफलता एचआईभी शिक्षा सदनबाट चार जना एचआईभी संक्रमित विद्यार्थी पनि परीक्षामा सहभागी हुनेछन्।
सबैभन्दा धेरै काठमाडौं, सबैभन्दा कम मनाङमा परीक्षार्थी
यस वर्ष काठमाडौंबाट ३९,६०० विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्, जुन देशभरि सबैभन्दा बढी हो। सबैभन्दा कम परीक्षार्थी भने मनाङमा मात्र ४३ जना छन्।
परीक्षा तालिका
परीक्षा चैत ७ देखि १९ गतेसम्म बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ। पहिलो दिन अनिवार्य अंग्रेजी, संस्कृत वेदविद्याश्रमका लागि अनिवार्य संस्कृत तथा मदरसा विद्यालयका लागि अनिवार्य अरबी भाषाको परीक्षा हुनेछ। चैत ८ गते अनिवार्य नेपाली तथा गैरनेपाली विद्यार्थीहरूका लागि ऐच्छिक अंग्रेजीको परीक्षा हुनेछ। अन्य विषयहरूको परीक्षा तालिका यथावत् राखिएको छ।
नतिजा असार ७ भित्र सार्वजनिक हुने
बोर्डले असार ७ भित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने योजना बनाएको छ। यस वर्ष न्यूनतम ३५ अंक नल्याउने विद्यार्थी अनुत्तीर्ण ठहरिने छन्। लेटर ग्रेडिङ प्रणालीअनुसार नतिजा प्रकाशित हुनेछ भने उत्तीर्ण दर ७० प्रतिशत पु-याउने लक्ष्य राखिएको छ। गत वर्ष ४८ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका थिए।
सबै परीक्षार्थीलाई शुभकामना!
बोर्डले परीक्षार्थीहरूलाई निर्धक्क भएर परीक्षामा सहभागी हुन आग्रह गर्दै सबै सरोकारवालालाई परीक्षा शान्तिपूर्ण, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न सहयोग गर्न अनुरोध गरेको छ।
Add Comment