नयाँ दिल्ली । बेंगलुरुको चिन्नास्वामी स्टेडियम बाहिर भएको भागदौडका कारण कम्तीमा ११ जनाको ज्यान गएको छ भने ३३ जना घाइते भएका छन्।
कर्नाटका राज्यका मुख्यमन्त्री सिद्धारमैयाले एक पत्रकार सम्मेलनमार्फत घटनाको पुष्टि गर्दै घटनाको न्यायिक छानबिन हुने बताएका छन्।
आईपीएलमा १८ वर्षपछि पहिलो पटक उपाधि जितेको रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) टोलीलाई स्वागत गर्न तथा जितको उत्सव मनाउन एक लाखभन्दा बढी समर्थकहरू स्टेडियम बाहिर भेला भएका थिए।
टोलीलाई स्वागत गर्न युवा, महिला, पुरुषदेखि वृद्धसमेत सडक किनारमा भीड जम्मा भएको थियो।
एक वरिष्ठ प्रहरी अधिकारीले बताएअनुसार, ‘चिन्नास्वामी स्टेडियमको मुख्य गेट बन्द थियो। त्यही बेला ठूलो संख्यामा मानिसहरू सानो गेटबाट जबर्जस्ती भित्र पस्न खोजिरहेका थिए, त्यही क्रममा भागदौड मच्चियो।’
यो घटना आरसीबीको ऐतिहासिक जितको खुसियालीमा परिणत हुन नसकी ठुलो विपत्तिमा रूपान्तरण भएको छ। स्थानीय प्रशासनले घाइतेहरूको उपचारका लागि अस्पतालमा उचित व्यवस्था गरिएको जानकारी दिएको छ।


Add Comment