प्रधानमन्त्रीले घोषणा त गरे, तर वन्ला त आठ वटै क्लबका लागि क्रिकेट रङ्गशाला

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै क्लबका लागि फ्लडलाइटसहितका क्रिकेट रङ्गशाला निर्माण गर्ने घोषणा गरेका छन्। सरकारले आगामी तीन महिनाभित्र निर्माण प्रक्रिया अघि बढाउने बताए पनि प्रधानमन्त्रीको यो घोषणाले नेपाली क्रिकेटमा नयाँ आशा जगाउनुका साथै यसको कार्यान्वयनबारे प्रश्नसमेत खडा गरेको छ।

प्रधानमन्त्री शाहले एनपीएलको छैटौँ संस्करणदेखि प्रतियोगिता ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन गर्ने लक्ष्यसहित प्रत्येक क्लबका लागि छुट्टाछुट्टै क्रिकेट रङ्गशाला निर्माण गर्ने योजना सार्वजनिक गरेका हुन्। उनले सामाजिक सञ्जालमार्फत आठवटै क्लबका लागि प्रस्तावित रङ्गशालाको स्थानसमेत सार्वजनिक गरेका छन्।

योजनाअनुसार विराटनगर किङ्ग्सका लागि बैजनाथपुर, लुम्बिनी लायन्सका लागि सिद्धार्थ, कर्णाली याक्सका लागि सुर्खेत, सुदूरपश्चिम रोयल्सका लागि फाप्ला, काठमाडौं गुर्खाजका लागि कीर्तिपुर, पोखरा एभेन्जर्सका लागि पोखरा, जनकपुर बोल्ट्सका लागि रामजानकी र चितवन राइनोजका लागि गौतमबुद्ध क्रिकेट रङ्गशालामा पूर्वाधार निर्माण गरिनेछ।

प्रधानमन्त्रीका अनुसार फाप्ला क्रिकेट रङ्गशाला निर्माणको प्रक्रिया अगाडि बढिसकेको छ भने बाँकी रङ्गशालाको निर्माण प्रक्रिया पनि आगामी तीन महिनाभित्र सुरु गरिनेछ। यी पूर्वाधार नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिने बताइएको छ।

प्रधानमन्त्री शाह क्रिकेटप्रति सकारात्मक रहेको कुरा यसअघि काठमाडौं महानगरपालिकाको नेतृत्वमा रहँदा पनि देखिएको थियो। उनले क्रिकेट खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरेका थिए। अहिले प्रधानमन्त्रीकै तहबाट आठवटै एनपीएल क्लबका लागि रङ्गशाला निर्माण गर्ने घोषणा हुनु नेपाली क्रिकेटका लागि महत्वपूर्ण विषय हो।

तर प्रश्न उठ्छ, घोषणा गरिएअनुसार आठवटै क्लबका लागि रङ्गशाला वास्तवमै निर्माण होलान् त? नेपालमा खेलकुद पूर्वाधार निर्माणका विषयमा पटक–पटक घोषणा हुने तर बजेट, जग्गा, निर्माण प्रक्रिया र व्यवस्थापनका कारण आयोजना वर्षौंसम्म अलपत्र पर्ने गरेका उदाहरण छन्। त्यसैले प्रधानमन्त्रीको घोषणालाई व्यवहारमा उतार्न स्पष्ट कार्ययोजना, बजेट सुनिश्चितता र समयसीमा आवश्यक देखिन्छ।

अर्कोतर्फ, एनपीएलका हालका आठवटा क्लबलाई मात्र केन्द्रमा राखेर क्रिकेट पूर्वाधार निर्माण गर्दा नेपाली क्रिकेटको समग्र विकासमा कस्तो प्रभाव पर्छ भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण छ। अहिले एनपीएलमा सहभागी हुन नसकेका अन्य क्लब, नयाँ खेलाडी तथा क्रिकेटमा भविष्य खोजिरहेका युवाका लागि सरकारले कस्तो व्यवस्था गर्ने? क्रिकेटको विकास केही सीमित क्लबको व्यावसायिक विस्तारमा मात्र सीमित हुने हो कि देशभरका प्रतिभाले अवसर पाउने वातावरण पनि तयार गरिने हो?

नेपाली क्रिकेटमा क्लबहरूबीचको प्रतिस्पर्धा, खेलाडी छनोट र अवसरको वितरणलाई लिएर पनि विभिन्न प्रश्न उठ्दै आएका छन्। यस्तो अवस्थामा आठवटा क्लबका लागि रङ्गशाला बनाउने योजनासँगै क्रिकेटमा देखिएको सम्भावित सिन्डिकेट र अवसरको असमानतालाई अन्त्य गर्ने विषयमा पनि सरकारले ध्यान दिनुपर्ने देखिन्छ।

क्रिकेट रङ्गशाला निर्माण हुनु आफैँमा सकारात्मक कदम हो। तर ती रङ्गशाला एनपीएलका क्लबको मात्र सम्पत्ति वा प्रयोगको सीमित केन्द्र बन्नु हुँदैन। राष्ट्रिय तथा स्थानीय प्रतियोगिता, उमेर समूहका खेलाडीको प्रशिक्षण, महिला क्रिकेट र नयाँ प्रतिभाको विकासका लागि पनि ती पूर्वाधार खुला हुनुपर्छ।

प्रधानमन्त्रीको घोषणाले नेपाली क्रिकेटलाई व्यावसायिकतातर्फ लैजाने सम्भावना अवश्य बढाएको छ। तर रङ्गशाला निर्माणको घोषणा गर्नु र त्यसलाई समयमै सम्पन्न गरेर सबै क्रिकेटप्रेमीको पहुँचमा पुर्‍याउनु फरक कुरा हुन्। त्यसैले अहिले नेपाली क्रिकेटप्रेमीको चासो प्रधानमन्त्रीको घोषणाभन्दा पनि त्यसको कार्यान्वयनमा केन्द्रित छ।