काठमाडौँ । अभिनेता राजेश हमालले आफ्नो नाम र तस्बिर प्रयोग गरी सञ्चालन भइरहेका टिकटक अकाउन्टहरू नक्कली भएको स्पष्ट पारेका छन्। बुधबार राति आफ्नो आधिकारिक फेसबुक अकाउन्टमार्फत जानकारी सार्वजनिक गर्दै हमालले हालसम्म आफूले कुनै पनि आधिकारिक टिकटक अकाउन्ट सञ्चालन नगरेको बताएका हुन्।
उनले आफ्नो मोबाइलमा समेत टिकटक एप नरहेको उल्लेख गर्दै आफ्नो नाममा खोलिएका अकाउन्टबाट प्रकाशित सामग्रीप्रति भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।
‘आजको दिनसम्म मेरो कुनै पनि आधिकारिक टिकटक अकाउन्ट छैन। मेरो फोनमा टिकटक एप पनि छैन। यो तलको अकाउन्टलगायत अरू जति पनि छन्, सबै नक्कली ९फेक० अकाउन्ट हुन्। कृपया भ्रममा नपर्नुहोला,’ हमालले फेसबुकमा लेखेका छन्।
हमालको यो स्पष्टोक्तिसँगै सामाजिक सञ्जालमा उनको नाम र पहिचान प्रयोग गरेर सञ्चालन भइरहेका टिकटक अकाउन्टहरूको आधिकारिकतामाथि प्रश्न उठेको छ। उनले आफ्ना प्रशंसक तथा सर्वसाधारणलाई त्यस्ता अकाउन्टबाट आउने सामग्रीलाई आधिकारिक नमान्न सचेत गराएका छन्।


Add Comment