काठमाडौं । जेठ १ गतेदेखि बैंकहरुमा पनि साताको दुई दिन सार्वजनिक बिदा हुने भएको छ। नेपाल राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै शनिबार र आईतबार साप्ताहिक बिदा दिने घोषणा गरेको हो। सरकारले जेठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेसँगै राष्ट्र बैंकले पनि कार्यालय खुल्ने समय संशोधन गरेको छ ।
जेठ १ गतेदेखि लागू हुनेगरी साप्ताहिक बिदा बढेसँगै अब सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय साढे ९ देखि साढे ५ बजेसम्म खुल्ने राष्ट्र बैंकले जानकारी गराएको छ। बैंकिङ कारोबार समय सोमबारदेखि शुक्रबारसम्म बिहान साढे ९ देखि साँझ ४ बजेसम्म र कायम गर्ने तर कात्तिक १६ देखि माघ १५ गतेसम्म बैंकिङ कारोबार समय बिहान साढे ९ देखि अपरान्ह साढे ३ सम्म कायम रहने जानकारी दिइएको छ । कात्तिक १६ देखि माघ १५ गतेसम्म भने बिहान साढे ९ देखि अपरान्ह साढे ४ बजेसम्म कार्यालय खोलिने समय तालिका रहेको छ।
२०७९ सालको लागि केन्द्रीय बैंकले निर्धारण गरिएका दशैं र तिहारका लागि सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार २ दिनभन्दा बढी भएमा तेस्रो दिनदेखि बैंकिङ विभाग र मुद्रा व्यवस्थापन विभागबाट प्रवाह हुने सेवा, भुक्तानी प्रणाली विभागबाट प्रवाह हुने आरटिजीएस रियल टाईम ग्रस सेटलमेन्ट सेवा, मौद्रिक व्यवस्थापन विभागबाट प्रवाह हुने सेवालगायत अन्य अत्यावश्यक सेवाहरु, अत्यावश्यकिय बैंकिङ सेवाहरुलाई नियमित गरिने जानकारी दिइएको छ ।
Add Comment