अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीसाधनको भाडा घट्यो

काठमाडौँ । सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडा घटाएको छ । नेपाल आयल निगमले शनिबार डिजेल र पेट्रोलको भाउ कम गर्ने निर्णय गरेपछि सोही आधारमा यात्रुबाहक र मालबाहक सवारीसाधनको भाडादर कम गरिएको हो ।

 यातायात व्यवस्था विभागले यात्रुबाहक सवारीसाधनमा यसअघि कायम भाडादरभन्दा पाँच दशमलव ४१ प्रतिशत भाडा कम गरेको छ । अहिले डिजेल प्रतिलिटर रु २९ र पेट्रोल प्रतिलिटर रु २० कम भएकाले त्यसैका आधारमा भाडादर घटाउने निर्णय भएको विभागले जानकारी दिइएको छ ।  यसअघि पटकपटक पेट्रोलियम पदार्थको भाडा बढ्दा भाडादर बढेको थियो । 

पहाडी बाटोमा चल्ने मालबाहक सवारीसाधनमा ६ दशमलव ९७ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीसाधनमा सात दशमलव ६८ प्रतिशत भाडा घटाइएको छ । वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले घटेमा वा बढेमा स्वचालितरुपमा भाडादर परिवर्तन हुने भएको छ ।