काठमाडौँ । हिमाली जिल्ला मनाङको ङिस्याङ गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० का लागि रु २३ करोड ५९ लाख ९७ हजारको बजेट सार्वजनिक गरेको छ । संस्कृति संरक्षण र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर गाउँपालिकाका उपाध्यक्ष छिरिङ गुरुङले बजेट सार्वजनिक गरिएको बताएका छन् ।
गाउँपालिकाले आन्तरिक राजश्वतर्फ रु ५० लाख, राजश्व बाँडफाँटतर्फ ५ करोड १३ लाख २३ हजार, वित्तीय हस्तान्तरणतर्फ रु १७ करोड ९४ लाख ७४ हजार विनियोजन गरेको छ । उक्त बजेटका लागि सङ्घीय सरकारबाट प्राप्त ४ करोड ४७ लाख ९९ हजार, समानीकरण अनुदानतर्फ ७ करोड २५ लाख, ससर्त अनुदानतर्फ ९ करोड १९ लाख विनियोजन भएको थियो ।
प्रदेश सरकारबाट प्राप्त रु ६७ लाख २४ हजार, समानीकरण अुनदानतर्फ रु ५० लाख ७४ हजार, सर्सत अनुदानतर्फ रु ५० लाख र समपूरक अनुदानतर्फ रु ५० लाख प्राप्त भएको थियो । बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ५ करोड ७० लाख ४७ हजार, सामाजिक विकासतर्फ २ करोड ५१ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ १ करोड २१ लाख, सार्वजनिक सेवा तथा क्षमता विकासतर्फ रु ४० लाख, पूर्वाधार विकासतर्फ ६ करोड २६ लाख, आर्थिक विकासतर्फ रु एक करोड ३२ लाख ५० हजार विनियोजन भएको छ ।
गाउँपालिकाका अध्यक्ष कान्छा घलेले संस्कृति संरक्षण, सामाजिक सुरक्षा तथा संरक्षण, शिक्षा तथा खेलकुद, स्वास्थ्य, कृषि, पर्यटन, पुशलगायत पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताएका छन् । आवासीय विद्यालय सञ्चालन, दिवा खाजा कार्यक्रम, शिक्षा, स्वास्थ्य, खेलकुद, सीपमूलक तालिमलगायत योजनालाई गाउँपालिकाले गौरवको योजनाका रुपमा प्राथमिकतामा राखेको अध्यक्ष घलेले बताएका छन् ।
Add Comment