काठमाडौँ । विसं२०७४ भदौमा महाकाली नदीमा चार लेनको पक्की पुलसँगै ६ लेनको पहुँच मार्ग शिलान्यासपछि निर्माणको काम सुरु गरिएको थियो । महाकाली नदीमा ४ लेनको ८ सय मिटर पक्की पुल छ, दोधारातर्फ साढे ८ सय मिटर छ लेनको सडक बन्नाका साथै वारि भीमदत्तको तटीयक्षेत्र हुँदै उत्तर गड्डाचौकीसम्म ५ किलोमिटर पहुँच मार्ग बन्ने भएपछि यस क्षेत्रमा विकासले मुहार पनि फेरेको छ । सुदूरपश्चिमकै ठूलो आयोजनामध्ये महाकाली पुल योजनाको दोधारा चादँनी सडक खण्डमा एक सय मिटर कालोपत्र गर्ने काममा दुई वटा सिमलको रुख हटाउन नसक्दा भने निर्माण चार वर्षभन्दा बढी समय गुजार्नुप¥योे ।
पहुँच मार्गमा पर्ने दुई वटा सिमलका रुख हटाउन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमार्फत प्रक्रिया अघि बढाइएको वर्षपछि मन्त्रिपरिषद्बाट उक्त विषयमा निर्णय भएको छ ।“ विभागीय मन्त्रालयमा धेरै पटक सिमलको रुख कटाउने विषयमा परिपत्र ग¥यौँ, तर सुनुवाइ भएन ।” शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले भन्नुभयो,“केही दिनअघि मात्रै मिडियामार्फत मन्त्रिपरिषद्को निर्णयले हटाउनू भन्ने कुरो सुने तर पत्र आइपुगेको छैन ।” प्रमुख संरक्षण अधिकृत मेहताले सरकारले नै निर्णय गरिसकेकाले अब समस्या नहुने बताउनुभयो ।
“ पत्र प्राप्त हुनासाथ रुख हटाउने काम सुरु भइहाल्छ ।”उहाँले भन्नुभयो,“विभागीय मन्त्रालयले नै मन्त्रिपरिषद्बाट उक्त विषयमा निर्णय गराउन पहल गरेको हो ।” झण्डै दुई महिनाअघि दोधारा र चादँनीस्थित प्रस्तावित सुख्खा बन्दरगाह क्षेत्रको अनुगमनका क्रममा केन्द्रबाट आएको मन्त्रिस्तरीय टोलीलाई समेत स्थानीयवासीले सडकमा पर्ने रुख हटाउनका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
यता महाकाली पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले दुई वटा रुख हटाउन पहल गर्न प्रक्रियागत कारणले निकै ढिलो भएको बताएको छ । पुल निर्माण कम्पनी कुमार श्रेष्ठ निर्माण कम्पनी तथा चाईना फ्युल कन्सट्रक्सनका इञ्जिनीयर किशोरराज पाण्डेयले मन्त्रिपरिषद्बाट नै निर्णय भएपछि रुख हटाउन सहज हुने बताउनुभयो ।
“रुख हटाउने प्रक्रियामा भएको ढिलाइका कारण सडक कालोपत्र गर्न ढिलाइ भएको तर पारीपट्टी भने पाँच सय मिटर कालोपत्र सकिएको छ ।” उहाँले भन्नुभयो,“एक सय मिटर कालोपत्र गर्न त रुखकै कारण समस्या हुँदै आयो । २०७४ चैतदेखि नै उक्त रुख हटाउन सरोकारवाला निकायसित पहल थालिएको थियो ।”
त्यसैगरी उक्त योजनाअन्तर्गत वारि भीमदत्त नगरपालिका तर्फ चार किलोमिटर पहुँच मार्ग कालोपत्र भइसकेको इञ्जिनीयर पाण्डेयले बताउनुभयो । महाकाली पुल आयोजनाको ८० प्रतिशत काम सकिसकेको छ । आयोजनाअन्तर्गत तटबन्ध निर्माणको काम भने हुनसकेको छैन । तटबन्ध निर्माणका लागि स्वरुपमा परिवर्तन भए पनि आर्थिक विषय भने टुङ्गिन बाँकी छ । रासस

