काठमाडौँ । मेडिकल सिटीको रुपमा विकसित हुँदै गएको भरतपुरमा एक सय शय्याको वैकल्पिक चिकित्सा पद्दतिसहितको आयुर्वेदिक अस्पताल निर्माण प्रक्रिया सुरु गरिएको छ ।
भरतपुर महानगरपालिका–१५ शिवनगरमा उक्त अस्पताल निर्माण गर्न लागिएको छ । सरकारको एक प्रदेशमा एउटा सुविधासम्पन्न आयुर्वेद अस्पताल बनाउने नीति अनुरुप यहाँ अस्पताल बनाउन लागिएको हो । स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको बजेटअनुसार यो भवन भरतपुरस्थित सहरी तथा भवन निर्माण आयोजनाले निर्माण गर्दै छ ।
कार्यालयका प्रमुख ई प्रकाश अर्यालका अनुसार भवनका लागि रु ५५ करोडको बजेटसहित बहुवर्षीय खरिद गुरुयोजना स्वीकृत भइसकेको छ । कार्यालयले नक्शाङ्कनको काम अघि बढाइसकेको र तीन/चार महिनामा नक्शा बनाएर निर्माणका लागि बोलपत्र आह्वान गरिँदै छ । राष्ट्रिय भवन संहिताअनुसार स्वास्थ्य मन्त्रालयको मापदण्ड बमोजिम आधुनिक र आकर्षक अस्पताल भवन बनाइने भएको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रकी प्रमुख डा कोपिला अधिकारीले आयुर्वेद, प्राकृतिक चिकित्सा, होमियोप्याथीलगयात वैकल्पिक चिकित्सा पद्दतिलाई एउटै छातामुनी सञ्चालन गर्ने गरी अस्पताल बनाउन लागिएको बताए। नेपालमा काठमाडौँको नरदेवीमा एक सय शय्या र सुदूरपश्चिममा ५० शय्याको अस्पताल सञ्चालनमा छन् ।
अन्य प्रदेशमा भन्दा यहाँ छिटो काम हुन लागेको उनले जानकारी दिएका छन् । सोही ठाउँमा ३ सय शय्याको शिक्षण अस्पतालसमेत बन्दै छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आयुर्वेदिक अस्पताललाई आवश्यक जग्गा उपलव्ध गराइसकिएको बताए । “जिल्लामा अन्य उपचारसँगै आयुर्वेद उपचारमा यो अस्पताल महत्वपूर्ण बन्ने अपेक्षा गरिएको छ”, उनले भने “वैकल्पिक चिकित्सा पद्दतिलाई एउटै छातामुनी सञ्चालन गर्नेगरी अस्पताल निर्माण गर्न लागिएको हो । आयुर्वेद अस्पताल निर्माणका लागि महानगरले पहल गरेको थियो ।”
“सरकारी र निजी स्वास्थ्य संस्था यहाँ स्थापना र प्रवद्र्धनका लागि महानगरपालिकाले भूमिका निर्वाह गर्दै आएको र केही वर्षभित्रै भरतपुर देशभरका बिरामीको उपचारको केन्द्र बन्दै छ ।” उनले महानगरप्रमुख दाहालले भने “भरतपुर अन्य क्षेत्रसँगै स्वास्थ्य पर्यटनको केन्द्र बन्दैछ । यसको व्यवस्थापनका लागि महानगरले काम गरिरहेको छ ।” अहिले क्यान्सर अस्पतालले देशैभरका बिरामीलाई सेवा दिएको र शिक्षण अस्पताल बनेसँगै सोही अनुरुपमा देशभरका शिक्षकले सेवा पाउने अपेक्षा गरिएको छ ।
हाल भरतपुरमा सङ्घीय भरतपुर अस्पताल, क्यान्सर अस्पताल, दुई वटा मेडिकल कलेज, २४ भन्दा बढी साना ठूला अस्पताल, आँखा अस्पताल, औषधि उद्योग सञ्चालनमा छन् । निजी क्षेत्रका दुईवटा क्यान्सर अस्पताल, शिक्षण अस्पताललगायत निर्माणको प्रक्रियामा रहेका छन् । राजधानी बाहिर सबैभन्दा बढी स्वास्थ्य सेवा दिने ठाउँको रुपमा भरतपुरलाई लिने गरिन्छ । एकीन तथ्याङ्क नभए पनि वार्षिक रु २० लाख हाराहारीले यहाँबाट सेवा लिने गरेको अनुमान गरिएको छ ।
Add Comment