काठमाडौँ । सिक्लेस हाइड्रोपावर लिमिटेडको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओ बाँडफाँट भएको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलले मंगलबार बिहान कम्पनीको आईपीओ बाँडफाँट गरेको हो ।
माग भन्दा बढीको आवेदन परेकाले क्यापिटलले योग्य रहेका १५ लाख १२ हजार ५ सय ३७ जनालाई गोलाप्रथामा समावेश गराएर सेयर बाँडफाँट गरेको छ । यसरी सेयर बाँडफाँट गर्दा १ लाख ५ हजार ८ सय जनाले १० कित्ताको दरले सेयर पाएका छन् । बाँकी आवेदन दिने १४ लाख ६ हजार ७ सय ३७ जना आवेदकको हात खाली भएको छ ।
कम्पनीले ६ साउनदेखि आयोजना प्रभावित कास्कीको मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानीय बासिन्दाहरुका लागि जारी पुँजी ८५ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ६ लाख १२ हजार ७ सय ९३ कित्ता साधारण सेयर निष्कासन गरी बाँडफाँट समेत गरिसकेको छ ।
कम्पनीले सर्वसाधारणलाई २९ भदौदेखि २ असोजसम्म ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो । जसमध्ये ५७ हजार ५ सय कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि र ३४ हजार ५ सय कित्ता कम्पनीका कर्मचारीको लागि छुट्याइएको थियो । बाँकी १० लाख ५८ हजार कित्ताको लागि सर्वसाधारणबाट आवेदन माग गरेको थियो ।
उक्त आईपीओमा कूल १५ लाख १३ हजार ७ सय ८८ जना आवेदकबाट १ करोड ६३ लाख ८७ हजार ६ सय ५० कित्ता सेयरको लागि आवेदन परेको थियो । जसमध्ये १२ सय ५१ जनाको आवेदन रद्द भएको र १५ लाख १२ हजार ५ सय ३७ जनाको आवेदन स्वीकृत भएको कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटलले जनाएको छ ।
कम्पनीले कास्कीको मादी गाउँपालिकामा १३ मेगावाट क्षमताको मद्क्यु खोला जलविद्युत आयोजना निर्माण गरी १९ चैत २०७४ देखि विद्युत् उत्पादन गरिरहेको छ ।
Add Comment