काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालु आर्थिक वर्षमा विशेष अदालतबाट फैसला भएका १ सय २२ वटा मुद्दाहरूमा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
आयोगले मङ्गलबार पत्रकार–प्रवक्ता भेटघाट कार्यक्रम गर्दै चालु आर्थिक वर्ष २०७९ र ०८० मा विशेष अदालतले फैसला गरेका १ सय २२ वटा मुद्दाहरूमा चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदनका लागि दर्ता भएको जानकारी दिएको हो ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले चालु आर्थिक वर्षमा विशेष अदालतबाट १ सय ६३ वटा मुद्दाको फैसला प्राप्त गरेकामा २० वटा मुद्दामा मात्रै सफलता प्राप्त भएको बताए ।
प्रवक्ता भण्डारीले त्यसमध्ये १ सय २२ वटा मुद्दामा आयोगको चित्त नबुझेका कारण पुनरावेदनमा गएको स्पष्ट पारे । १८ वटा मुद्दामा भने आयोगसँग पर्याप्त प्रमाण नपुग्ने भएकाले पुनरावेदन नगर्ने निर्णय भएको उनले बताए ।
प्रवक्ता भण्डारीले आयोगले २४ वटा मुद्दामा पुनरावेदन जानेगरी काम गरिरहेको र ती मुद्दाहरूको फैसला प्राप्तिका लागि कुरेको बताए । अघिल्लो आर्थिक वर्षको दुई वटा मुद्दा पनि पुनरावेदन गरेको जानकारी दिनुभयो । सो मुद्दाहरू सामाजिक सुरक्षाभत्ता हिनामिना र गैरकानुनी सम्पत्ति आर्जनको रहेको उल्लेख गरे ।
पुनरावेदनमा गएका १ सय २२ वटा मुद्दामध्ये गलत प्रतिवेदनका २ वटा, झुटा बिल भरपाईका २ वटा, घुस÷रिसबतका १ सय १२ वटा, नक्कली बैङ्क ग्यारेन्टीको १ वटा, जग्गाधनी स्रेस्ता सच्याएको १ वटा र राजस्व चुहावटको १ वटा रहेको उनले जानकारी दिए ।
Add Comment