काठमाडौं । भरतपुर महानगरपालिकाभित्र सञ्चालनमा रहेका पाँच सहकारीमा समस्या देखिएको छ । आर्थिक तरलताका कारण सहकारीमा समस्या देखिएको हो ।
भरतपुर महानगरपालिकाको सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका प्रमुख रामबाबु पौडेलका अनुसार भरतपुर महानगरको क्षेत्राधिकारभित्र रहेका तीन र क्षेत्राधिकार बाहिरका दुई सहकारीमा आर्थिक तरलताको समस्या देखिएको हो । महानगर क्षेत्राधिकारभित्र रहेको चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्था र समाज कल्याण बचत तथा ऋण सहकारी संस्थामा समस्या देखिएको छ । सनराइज बचत तथा ऋण सहकारी संस्थामा सञ्चालकको नियतका कारण समस्या आएको उहाँले जानकारी दिनुभयो । यस्तै प्रदेश सरकारको क्षेत्राधिकारभित्र रहेको साहारा चितवन बचत तथा ऋण सहकारी र सहकारी विभागको क्षेत्राधिकारभित्र रहेको शुक्रपथ बचत तथा ऋण सहकारीमा पनि समस्यामा परेको जनाइएको छ ।
महानगरको क्षेत्राधिकारभित्र रहेका सहकारी सनराइज बचत तथा ऋण सहकारी संस्थामा सञ्चालकले ऋणी नक्कली खडा गरेर काम गरेको पाइएको छ । भरतपुर महानगरपालिका–३ मा रहेको सो सहकारीका अध्यक्षले नक्कली ऋणी खडा गरेर आर्थिक हिनामिना गरेको पाइएपछि छानबिन सुरु गरेको शाखा प्रमुख पौडेलले बताउनुभयो । भरतपुर –३ का अध्यक्ष विकास थापाले निक्षेपकर्ताको बचत असुलीका लागि आवश्यक सहजीकरण भइरहेको बताउनुभयो ।
उक्त सहकारीमा कर्मचारीको सहयोगमा अध्यक्षले रकम हिनामिना गरेको पाइएको छ । यस सहकारीमा तीन हजार पाँच सय शेयर सदस्य रहेको र रु ७० करोडको कारोबार भएको उहाँले जानकारी दिनुभयो । यस सहकारीले तीन स्थानमा सेवा कार्यालय सञ्चालन गरी आफ्नो कारोबार गर्दै आएको थियो ।
यस्तै चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थामा दुई हजार दुई सय शेयर सदस्य रहेका छन् । आर्थिक तरलता देखिएपछि सहकारीले रु एक लाखभन्दा कम बचत भएका बचतकर्ताको रकम फिर्ता गर्न लागेको पौडेलले बताउनुभयो । यस सहकारीमा वार्षिक रु २० करोड हाराहारीको कारोबार हुने गरेको शाखाले जनाएको छ ।
समाज कल्याण बचत तथा ऋण सहकारी संस्थामा वार्षिक रु ३५ करोड हाराहारीको कारोबार हुने गरेको थियो । पाँच हजार सदस्य रहेको सो सहकारीलेको प्रधान कार्यालय भरतपुर –१ मा रहेको छ । यसले दुई सेवा केन्द्रको अनुमति लिएको भए पनि एउटा केन्द्रबाट काम गर्दै आएको पौडेलले बताउनुभयो । सहकारीले साना बचतकर्ताको रकम फिर्ता गरिरहेको छ भने ठूला बचतकर्ताको रकम फिर्ता गर्न सकेको छैन ।
प्रदेश र सहकारी विभागको क्षेत्राधिकारभित्र रहेका दुई सहकारीको विवरण महानगरपालिकाको सहकारी तथा रोगार प्रवद्र्धन शाखासँग नहुने भएकाले कति बचतकर्ता प्रभावित भए भन्ने विषयमा जानकारी नभएको उहाँले बताउनुभयो ।
तरलताको अभावका कारण बचतकर्तालाई समयमा रकम दिन नसक्ने समस्या बढेसँगै महानगरपालिकाको क्षेत्राधिकारभित्र रहेका सहकारीले साधारणसभामार्फत समस्या समाधानका लागि काम गर्न लागेका छन् । महानगरमा हाल तीन सय ५४ सहकारी संस्था सञ्चालनमा छन् । तीमध्ये ४८ सहकारी संस्था निस्क्रिय रहेको उहाँले बताउनुभयो । रासस
Add Comment