सरल भाषा सम्पादन सम्बन्धी राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौँ । बौद्धिक अपाङ्गता भएका स्व–वकालतकर्ताहरूले शुक्रबार काठमाडौँमा “सबैलाई सरल भाषामा सामग्री बनाउने तरिका” सिकाएका छन् ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल तथा बौद्धिक अपाङ्गताका अभिभावक महासंघ, नेपाल र सिबिएम ग्लोबलको संयुक्त सहकार्यमा आयोजित “सरल भाषा सम्पादन सम्बन्धी राष्ट्रिय सेमिनार” मा कुनै पनि सामग्रीहरू प्रकाशन गर्दा सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूलाई उक्त सामग्री पढ्न तथा बुझ्न सहज होस भनेर स्व–वकालतकर्ताहरूले सो तरिका सिकाएका हुन् ।

 

बौद्धिक अपाङ्गता भएका स्व–वकालतकर्ताहरूको एउटा “सरल भाषा सम्पादन समुह” छ । जसले सरल भाषामा सामग्री कसरी बनाउने भन्ने विषयमा सबैलाई सिकाउनका लागि काम गरिरहेको छ । उक्त सेमिनार पनि बौद्धिक अपाङ्गता भएका स्व–वकालतकर्ताहरू आफै सक्रिय भएर सञ्चालन गरेका हुन् साथै सो कार्यक्रममा उपस्थित सहभागीहरूबाट उठेका प्रश्नहरूको समेत उनीहरूले आफै जवाफ दिएका थिए ।

कार्यक्रममा “हामी को हौं ?” शिर्षकको जानकारीमूलक प्रकाशन सामग्री तथा स्व–वकालतकर्ताहरूको चिनारी तथा उनीहरूको यस कामसँग सम्बन्धित विषयमा जानकारी दिने श्रव्यदृष्य सामग्री पनि सार्वजनिक गरिएको थियो ।

प्रमुख अतिथीको रूपमा आमन्त्रित राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव नवराज सापकोटाले कार्यक्रमलाई सम्बोधन गदै यस कार्यक्रममा उठेका सवालहरूमा आयोगले के गर्न सक्छ भन्ने विषयमा आयोगमा छलफल गर्ने तथा आयोगबाट प्रकाशन भएका सामग्रीहरू मध्ये बाट कुनै एक सामग्रीलाई सरल भाषामा प्रकाशन गर्नका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

वास्तवमा, बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूले आफैले यसरी काम गर्नु आफैमा एउटा ठूलो चुनौती तथा उदाहरण हो किनकी बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूलाई धेरैजसो अवस्थामा अरूको सहयोगको आवश्यकता पर्दछ । तर अवसर, सबैको साथ, प्रेरणा र सहयोग पाउँदा उनीहरू आफै पनि अग्रसर भएर काम गर्न सक्छन् भन्ने यो एउटा ठूलो उदाहरण भएको सहभागीहरूको महसुस गरिरहेका थिए ।