काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्जी जारी भएका १६ जना अझै पक्राउ परेका छैनन् । फरार हुनेहरुमा राईका छोरा निरज र बादलका छोरा प्रतिकसहित छन् ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने नाममा भएको अर्बभन्दा बढीको ठगी आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चैत १२ गते ३ जना विचौलियालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो ।
त्यसयता ठगी मुद्दालाई संगठित अपराधमा लगेर हिरासतमा राखेर अनुसन्धान गर्ने समयलाई ६० दिनमा पुर्याइएको थियो । प्रहरीका अनुसार पीडितले जनही २० देखि ५० लाख रुपैयाँसम्म बुझाएको आरोप लगाएका छन् । भुटानी शरणार्थी समस्या समाधान गर्न गठन भएको कार्यदलले तयार गरेको प्रतिवेदनमा पछि नेपालीको नाम पनि समावेश भएको पाइएपछि हाइप्रोफाइलहरु तानिएका हुन् ।
कार्यदल गठन गर्नुअघिदेखि नेपाललाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजान गिरोह सक्रिय भएको र त्यसको नेक्सस माथिसम्म रहेको अनुसन्धान अधिकारीहरु बताउँछन् । अनुसन्धान प्रतिवेदन प्राप्त भएपछि काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले अध्ययन गरी अभियोगपत्र तयार गर्नेछ । आगामी मंगलबारसम्म अदालतमा अभियोगपत्र दर्ता गरिसक्नु पर्नेछ ।
काठमाडौं जिल्ला सरकारी वकिल कार्यालय प्रमुख अच्युतमणि न्यौपानेले अनुसन्धान प्रतिवेदन आएपछि मात्र कति जना प्रतिवादी कायम हुनेछन् भन्नेबारे भन्न सकिने बताए । ‘अहिलेसम्म १५ जना पक्राउ छन् भने अन्य १६ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको अवस्था छ’, उनले भने ।प्रहरीले अनुसन्धान प्रतिवेदन शुक्रबार बुझाउने तयारी गरेको छ । काठमाडौं प्रहरी परिसर स्रोतका अनुसार प्रस्तावित रायसहितको अनुसन्धान प्रतिवेदन बुझाउने काम अन्तिम चरणमा पुगेको छ ।
‘सम्भवतः शुक्रबार हामी प्रतिवेदन बुझाउने छौं’, परिसरका एक अधिकारीले भने । यो प्रकरणमा हालसम्म १५ जना पक्राउ परिसकेका छन् । बिहीबारमात्र हज कमिटीका अध्यक्ष शमशेर मिया पक्राउ परेका थिए । सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वमन्त्री टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलगायत पक्राउ परिसकेका छन् ।
Add Comment