काठमाडौं । खाद्यान्न तथा खाद्य पदार्थमा उच्च मूल्यवृद्धि देखिएको छ। नेपाल राष्ट्र ब्यांकले शुक्रबार प्रकाशित गरेको तथ्यांकअनुसार, वैशाख महीनामा गत वर्षको तुलनामा खाद्य पदार्थको मूल्य १३.६९ प्रतिशतले बढेको छ।
दैनिक जीवनयापनमा खाद्यान्नलाई आधारभूत वस्तु मानिन्छ। यसको मूल्य बढ्दा विपन्न र निम्न मध्यमवर्ग सोझै प्रभावित हुनपुग्छन्। निम्न वर्गको पारिवारिक कुल खर्चको ठूलो हिस्सा खाद्य वस्तुमा खर्च हुने कारणले यसको उच्च मूल्यवृद्धिको सोझो असर पर्छ।
रुस–युक्रेन युद्धपछि संसारभरि खाद्यान्न र खाद्यवस्तुको मूल्यवृद्धि भएको छ। नेपालमा सरकारले खाद्यान्नको सुलभ पहुँच दिन विपन्न लक्षित कुनै पनि प्रभावकारी कार्यक्रम सञ्चालन गरेको छैन।
केन्द्रीय ब्यांकका अनुसार, यो वर्ष औसत मूल्यवृद्धि झण्डै ८ प्रतिशतको छेउछाउ रहने देखिएको छ। वैशाखसम्म औसत मल्यवृद्धि दर ७.८६ प्रतिशत छ। खाद्यान्न, तरकारीसहितका वस्तुको मूल्यवृद्धिका कारण जेठ र असारमा पनि मूल्यवृद्धिदर उच्च नै कायम हुने अनुमान गरिएको छ। चालु आर्थिक वर्षको पहिलो पहिलो चार महीना मूल्यवृद्धि दर ८ प्रतिशतभन्दा माथि थियो। वैशाख महीनाको उपभोक्ता मूल्यवृद्धि दर ७.४१ प्रतिशत छ।
राष्ट्र ब्यांकका अनुसार वैशाखमा मरमसलाको मूल्य सर्वाधिक २६.६१ प्रतिशतले बढेको छ। रेस्टुरेन्ट तथा होटलको मूल्य १४.८७ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको मूल्य १०.४१ प्रतिशत र सुर्तीजन्य पदार्थको मूल्य ८.४९ प्रतिशतले बढेको छ।
तर, तेल र घ्युको मूल्य भने वैशाखमा १४.४४ प्रतिशतले घटेको छ। पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमा तोरी, भटमास लगायतका वस्तुको मूल्य घटेसँगै तेलको मूल्य पनि ओरालो लागेको हो। राष्ट्र ब्यांकका अनुसार तरकारीको मूल्य पनि १.९ प्रतिशतले घटेको छ।
त्यस्तै, मनोरञ्जन तथा संस्कृति क्षेत्रको मूल्य १५.७५ प्रतिशत, शिक्षाको १०.५६ प्रतिशत, घरायसी उपयोगका वस्तुहरूको ९.६५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणहरूको मूल्य ८.२७ प्रतिशतले बढेको छ।
वैशाखमा थोक मूल्य भने ३.३१ प्रतिशत मात्रैले बढेको छ। अघिल्लो वर्षको सोही महीनामा यस्तो मूल्यवृद्धि १६.०६ प्रतिशत रहेको थियो। थोक मूल्य न्यून हुँदा आगामी महीनाहरूमा मूल्यवृद्धि मत्थर हुने सम्भावना रहन्छ।
Add Comment