काठमाडौं । दिनहुँ बढ्दो गर्मी महशुस गरिएका मध्य र पश्चिम तराईका भूभागहरूमा अझै केही दिन तापक्रम यथावत् रहने भएको छ।
वरिष्ट मौसमविद् वरूण पौडेलका अनुसार ती स्थानहरूमा तत्काल पानी पर्ने सम्भावना नरहेकाले मौसम अझै केही दिन यथावत् रहने सम्भावना छ।
पूर्वी तराई र मधेश प्रदेशका पूर्वी बेल्टमा भने अब विस्तारै तापक्रम घट्न सक्ने पौडेलले जानकारी दिए।
‘पूर्वी तराई र मधेश प्रदेशका पूर्वी बेल्टमा बादलहरू जम्मा हुने र वर्षा हुने हुनसक्छ,’ उनले भने, ‘मध्य र पश्चिम तराईमा अझै केही दिन गर्मी हुने देखिएको छ।’
आज पनि मधेश प्रदेश लगायत पश्चिम तराईमा घाम नै लाग्ने सम्भावना छ। पहाडी भूभागमा बेलुकापख अलिअलि बादल जम्मा भएर हल्का वर्षाको सम्भावना रहेको पौडेलले बताए।
बिहिबार केरला आइपुगेको मनसुनी वायु अझै नेपाल भित्रिएको छैन। स्थानीय वायु पनि सक्रिय नभएकाले वर्षाको सम्भावना नहुँदा तापक्रम हिजोअस्तीसरह नै हुने बताइएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार जनकपुर, सिमरा र भैरहवामा तापक्रम ४२ डिग्रीभन्दा बढी मापन गरिएको थियो। त्यस्तै नेपालगञ्जमा ४१.५, विरेन्द्रनगरमा ३९.४, दिपायलमा ३९.४ डिग्री मापन भएको थियो। ती स्थानहरूमा तापक्रम घट्न अझै केही दिन लाग्ने महाशाखाले जनाएको छ।
काठमाडौं उपत्यकामा बेलुकापख बदली स्थानमा पानी पर्ने सम्भावना रहेको मौसमविद् पौडेलले जानकारी दिए।

