काठमाडौं । विगतका वर्षदेखि सुन्तला उत्पादन निरन्तर ओरालो लागेको धनकुटामा यस वर्ष भने उत्पादन केही बढ्ने देखिएको छ । धनकुटाका विशेषगरि खोकु स्थानीय र धनकुटा स्थानीय जातको सुन्तला उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ ।
कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार धनकुटामा आर्थिक वर्ष ०७७–७८ मा ३ हजार १ सय ५१ मेट्रिक टन, आर्थिक वर्ष ०७८–७९ मा३ हजार १ सय २७मेट्रिक टन र गत वर्ष २ हजार ८ सय १५ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो। यस बर्ष भने उत्पादन केही बढ्ने अनुमान छ।
सुन्तला टिपाइ र बिक्रिको कार्य भइरहेकोले आधिकारिक तथ्यांक नआएपनि यस वर्ष १० देखि १५ प्रतिशत बढ्ने अनुमान रहेको कृषि ज्ञान केन्द्र धनकुटाका प्रमुख नगेन्द्र रानाले जानकारी दिनुभयो।
जिल्लाभरि ८ सय ७७ हेक्टरमासुन्तला खेती हुने गरेको भएपनि ५ सय १ हेक्टर क्षेत्र मात्रै उत्पादन क्षेत्र रहेको छ। उत्पादन भएको सुन्तला बगानबाटै प्रतिकेजी ५० देखि एक सय रुपैयाँमा बिक्रि भइरहेको छ । गएको वर्ष सुन्तलाको उत्पादन निराशाजनक भएपनि यसपटक राम्रो उत्पादन भएको किसान राधा राईले बताउनुभयो ।
धनकुटाका सातवटै स्थानिय तहमा सुन्तलाको व्यवसायिक खेति हुने गरेको छ । यहाँ उत्पादित सुन्तला पूवी तराईका जिल्ला हुँदै काठमाडौंसम्म पुग्ने गरेको छ । धनकुटाको सहिदभूमि गाउँपालिकाको खोकुमा उत्पादन भएको सुन्तलालाई एसियाकै गुलियो सुन्तला रुपमा लिने गरिएको छ ।
Add Comment