प्रचण्डले भने,- ‘२०८४ सालसम्म प्रधानमन्त्रीको दौडमा छैन, जनतासँगै रहन्छु’

वीरगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विसं २०८४ सम्म प्रधानमन्त्री बन्ने दौडमा आफू नरहेको स्पष्ट पारेका छन्।

प्रेस सेन्टर पर्साले वीरगञ्जमा आयोजना गरेको ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ अन्तर्गत आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले भने,‘म अब २०८४ सालसम्म प्रधानमन्त्री हुन्न। म जनतासँगै रहन्छु र उनीहरूका समस्या सदनमा उठाउँछु।’

पूर्वप्रधानमन्त्री दाहालले सरकारमा हुँदा र बाहिर हुँदा फरक नीति अपनाउने आरोप माओवादी केन्द्रलाई लागु नहुने दाबी गरे। उनका अनुसार, सरकारमा रहँदा माओवादी केन्द्रले भ्रष्टाचारविरुद्ध कडा कदम चालेको थियो।

त्यसअघि वीरगञ्जमा आयोजित ‘माओवादीसँग समुदाय संवाद’ कार्यक्रममा अध्यक्ष दाहालले झापादेखि पर्सासम्मको हुलाकी राजमार्गलाई अगाडि बढाउने कार्यमा आफूले पहल गरिरहेको बताए।

फरक प्रसङ्गमा उनले वीरगञ्जको मुख्य सडक छेउमा बसोबास गर्ने जनतालाई विस्थापित गर्न नहुने बताए ।