नेपाल प्रज्ञा–प्रतिष्ठानले ‘प्रज्ञा नेपाली लोककथा’ कृति प्रकाशन गरेको छ। कृतिमा नेपालका सात वटै प्रदेश, ७७ वटै जिल्ला, बहुसङ्ख्यक जाति र दार्जिलिङदेखि बर्मासम्मका नेपाली लोकजीवनमा प्रचलित लोककथाहरूलाई समेटिएको छ।
साहित्य (बालसाहित्य र लोकवार्ता) विभागका प्रमुख प्राज्ञ डा. देवी नेपाल सम्पादक रहेको ‘प्रज्ञा नेपाली लोककथा’ नेपालको परिवर्तित सङ्घीय संरचनाअनुसारको प्रादेशिक योजना अनुसार तयार गरिएको कृति भएको प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानका अनुसार, नेपाली भूगोलभन्दा बाहिर रहेको नेपाली लोकजीवनले पनि नेपाली लोकसाहित्यमा विशेष महत्त्व राख्ने हुनाले यस कृतिमा मुलुक बाहिरका नेपाली लोककथाहरूलाई पनि समेटिएको छ।
२०३२ सालमा तुलसी दिवसको ‘नेपाली लोककथा’ प्रकाशन भएपछि लोककथाका केही फुटकर कामहरू भए पनि प्रज्ञा–प्रतिष्ठानबाट योजनाबद्ध तरिकाले लोककथाको खोजी गर्ने कार्य हुन सकेको थिएन। यसपटक भने नेपाली अनुभूतिहरू एकै प्रकारका हुने र जीवन शैलीमा समेत सामीप्य देखिने भए पनि कुनै न कुनै स्थानीय विम्ब, स्थानीय किंवदन्ती र स्थानीय रङलाई समेटेर त्यहाँको लौकिक जीवनभित्रको मौलिकतालाई खोज्ने प्रयाससहित योजनाबद्ध तरिकाले लोककथाको सङ्कलन गरिएको कृतिका सम्पादक नेपालले जानकारी दिएका छन्।
नेपालभित्रका १५६ र नेपालबाहिरका २८ गरी जम्मा १८४ वटा लोककथा समेटिएको संग्रह ५६८ पृष्ठको छ।
प्रादेशिक रूपमा लोककथा संकलनका लागि प्रदेश १ मा डा. देवी क्षेत्री दुलाल, प्रदेश २ मा गोपाल अश्क, बागमती प्रदेशमा शीतल गिरी, गण्डकी प्रदेशमा प्रा.डा. कुसुमाकर न्यौपाने, लुम्बिनी प्रदेशमा हरिप्रसाद तिमल्सिना, कर्णाली प्रदेशमा कालीबहादुर शाही र सुदूरपश्चिममा डा. पुष्करराज भट्ट (सुदूरपश्चिम प्रदेश) ले जिम्मेवारी लिएका थिए। यस्तै, सीमापारिका नेपाली लोककथाको सङ्कलनमा दार्जिलिङ, सिलिगुढी, कालेबुङ, सिक्किम, असम, मणिपुर, बर्माका विभिन्न व्यक्तिले भूमिका खेलेका थिए।
कृतिको मूल्य ५८० राखिएको छ।

