काठमाडौं । सँधै घाटा देखाएर इन्धनको मूल्य बृद्धि गर्न पल्किएको नेपाल आयल निगमले उपभोक्तामाथिको लुट कायम नै गरेको छ । विगतको तुलनामा पछिल्लो वर्ष नाफामा देखिएको आयल निगले फेरि घाटा देखाउँदै मूल्य बृद्धि गरेको छ । सोमबार रातीदेखि कायम हुने गरी निगमले डिजेल, पेट्रोल, मट्टीतेल, आन्तरिक र अन्तराष्ट्रिय तर्फको हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य बृद्धि गी उपभोक्तालाई लुट मच्याउने कामलाई निरन्तरता दिएको छ ।
निगमले विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक तर्फको हवाई इन्धनमा प्रतिलिटर दुई रुपैयाँ बढाएको जनाएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १३० रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ११३ रुपैयाँ तथा आन्तरिक तर्फको हवाई इन्धनको प्रति लिटर मूल्य ८६ कायम गरिएको छ । त्यस्तै अन्तराष्ट्रिय उडानतर्फ प्रति किलो लिटर १६ डलरले वृद्धि गरि ७७० प्रति किलोलिटर तथा खाना पकाउने ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ वृद्धि गरि प्रति सिलिण्डर १४५० रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।
निगमले आफूलाई घाटा देखाएर कर्मचारीलाई अधिकतम बोनस ख्वाउने, सेवा सुविधा थप्ने कामलाई भने रोकेको देखिँदैन । यसरी उपभोक्ता माथि ब्रम्हलुट मच्चाउँदा पनि उपभोक्ताको हितका लागि काम गर्ने भनिएका संस्था तथा राजनीतिक दलका भ्रातृसंगठनहरु भने मौन देखिएका छन् ।

