महत्वपूर्ण क्षेत्रमा सुरक्षाको जिम्मा सेनालाई

काठमाडौँ । वैशाख ३० मा हुने स्थानीय निकायको निर्वाचनमा चितवन जिल्लाका महत्वपूर्ण क्षेत्रमा सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । स्थानीय तहको निर्वाचनलाई लक्ष्य गरी जिल्लाको महत्वपूर्ण मानिएको क्षेत्र कारागार कार्यालय चितवन र भरतपुर विमानस्थलको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको हो ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार निर्वाचनलाई लक्ष्य गरी जिल्ला सुरक्षा समितिको वैशाख १५ गतेको निर्णयानुसार महत्वपूर्ण निकायमा सेनाले सुरक्षाको जिम्मेवारी लिएको हो । यी क्षेत्रमा जेठ २ गतेसम्म नेपाली सेनाले सुरक्षाको जिम्मेवारी लिने छन् । निर्वाचन नसकिएको खण्डमा समय थप गर्न सकिने उनले बताए ।

निर्वाचनको समयमा प्रहरीमा पर्याप्त जनशक्ति नहुने हुँदा सुरक्षाको जिम्मेवारी सेनालाई दिइएको उनले बताएका छन् । दुबै क्षेत्रमा आन्तरिक काम नेपाल प्रहरीले गर्ने छ । सुरक्षा सेनाले दिनेछ । हरेक निर्वाचनमा महत्वपूर्ण प्रतिष्ठान र निकायमा सुरक्षाको जिम्मेवारी नेपाली सेनाले लिने गरेको जिल्ला अधिकारी तामाङले बताएका छन् ।

निर्वाचनमा सुरक्षा योजनाअनुसार अहिले मतदानस्थलको सुरक्षाको अवस्थाका बारेमा जानकारी लिने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए । उनका अनुसार अहिले मतदानस्थलको निरीक्षण, अनुगमनका काम भइरहेको छ । मतदानस्थलमा हुनसक्ने सम्भावित घटनाको समेत पूर्वानुमानका कामसमेत भइरहेको उनको भनाइ रहेको छ । वैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचनलाई लक्ष्य गरी जिल्लामा सुरक्षा व्यवस्थासमेत मजबुत बनाइएको छ ।