विभिन्न दस वस्तुको आयातमा थप कडाइ

काठमाडौँ । सरकारले थप कडाइसहित विभिन्न दस वस्तुको आयातमा लगाएको बन्देजलाई निरन्तरता दिएको छ । आगामी भदौ १४ गतेसम्मका लागि ती वस्तुको आयातमा बन्देज लगाइएको हो । अत्यधिक आयातका कारण विदेशी मुद्राको सञ्चितिमा दबाब परेपछि सरकारले आयातमा कडाइ गर्दै आएको छ ।

सरकारले गत वैशाख १३ गतेदेखि असार मसान्तसम्मका लागि कुरकुरे, कुरमुरे, लेजजस्ता उत्पादन, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सूर्तीजन्य वस्तु, हीरा, छ सय अमेरिकी डलरभन्दा बढी मूल्यका मोबाइल सेट, ३२ इन्चभन्दा माथिका रङ्गीन टेलिभिजन, एम्बुलेन्स र शववाहनबाहेक जिप, कार र भ्यान, सबै प्रकार खेलौना र तासको आयात बन्देज लगाएको थियो । यिनै वस्तु आयातमा लगाइएको बन्देजलाई भदौ १४ गतेसम्मका लागि निरन्तरता दिने निर्णय असार ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो ।

राजपत्रमा एक सूचना प्रकाशन गर्दै सरकारले तीन सय अमेरिकी डलर करिब ३८ हजार रुपियाँ भन्दा माथिका स्मार्टफोन आयातमा बन्देज लगाएको हो । यसअघि वैशाख १३ गतेदेखि छ सय अमेरिकी डलरभन्दा माथिका स्मार्टफोन आयातमा प्रतिबन्ध लगाइएकोमा झन् कडाइ गरिएको हो ।

त्यस्तै १ सय ५० सीसीभन्दा माथिका मोटरसाइकलको आयातमा पनि सरकारले बन्देज लगाएको छ । यसअघि २ सय ५० सीसीभन्दा माथिका मोटरसाइकलको आयातमा प्रतिबन्ध लगाइएको थियो । तर, साउन १ गतेभन्दा अगाडि बैङ्किङ माध्यमबाट आयात प्रक्रिया सम्पन्न भइसकेका ३०० देखि ६०० डलरसम्मका स्मार्टफोन १ सय ५० सीसीदेखि २ सय ५० सीसीसम्मका मोटरसाइकलको हकमा यो व्यवस्था लागू हुने छैन ।