धमाधम अन्तिम मत परिणाम सार्वजनिक हुँदै

काठमाडौं । जिल्लाका ४ प्रतिनिधिसभा र ८ प्रदेशसभा क्षेत्रमध्ये आज बिहानसम्म ६ प्रदेशसभा क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय जलेश्वरले हिजो सम्पन्न महोत्तरी–१ (२) को अन्तिम मतगणना परिणामअनुसार नेकपा माओवादी केन्द्रका भरतप्रसाद साह ८ हजार ३ सय ७१ मत प्राप्त गरी प्रदेशसभा सदस्य निर्वाचित भएका छन्।साहका निकटतम् प्रतिस्पर्धी जसपा नेपालका रामश्रेष्ठ महतोले ५ हजार ८ सय ७१ मत प्राप्त गरेका छन् ।

त्यसैगरी महोत्तरी–२ (१) मा लोसपा नेपालका जयनुल राइन ११ हजार ४ सय २४ र महोत्तरी–२ (२) मा स्वतन्त्र उम्मेदवार सुरिता साह ८ हजार ५ सय ६८ मत प्राप्त गरी विजयी भएको कार्यालयले जानकारी दिएको छ । राइनका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका मञ्जु यादवले ६ हजार २ सय ५१ र साहका प्रतिस्पर्धी नेपाली कांग्रेसका नागेश्वर यादवले ६ हजार ८ सय २ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले बताएका छन् ।

यस्तै महोत्तरी–४ (१) मा नेकपा एमालेका सरोजकुमार यादव १० हजार ५ सय ३१ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी लोसपा नेपालका कौशलकुमार यादवले ८ हजार ६ सय ७२ मत प्राप्त गरेको छन्।

महोत्तरी–३ (१) र (२) को अन्तिम परिणाम सार्वजनिक भइसकेको हो । दुवैमा लोसपा नेपालका उम्मेदवारअभिराम शर्मा र रानी शर्मा तिवारी विजयी भएका छन् । शर्माका प्रतिस्पर्धी जसपा नेपालका दीपेन्द्र झाले ९ हजार ७ सय ७८ र तिवारीका प्रतिस्पर्धी एमालेका रामदयाल मण्डलले ४ हजार ५ सय ६० मत प्राप्त गरेका छन् ।

जिल्लामा अब प्रदेशसभातर्फ महोत्तरी–१ (१) र महोत्तरी–४ (२) को मात्र परिणाम सार्वजनिक हुन बाँकी रहेको छ । सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ को जिल्लामा धमाधम मतगणना परिणाम सार्वजनिक हुँदैछन् ।