एमालेको सूर्य र राप्रपाको तीर चिन्हमा भोट हाल्न अध्यक्ष थापाको आग्रह

काठमाडौँ । यही वैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनमा कमल थापा नेतृत्वको राप्रपा नेपालले नेकपा एमालेको चुनाव चिह्न ‘सूर्य’ र आफ्नै पार्टीको चुनाव चिह्न ‘तीर’ मा भोट मागेको छ । स्थानीय निर्वाचनमा यी दुवै चिह्नमा तालमेलको आधारमा भोट हाल्न राप्रपा अध्यक्ष थापाले आग्रह गरेका छन् ।

थापाकै अध्यक्षतामा आज बसेको राप्रपा सचिवालय बैठकले एमालेसँग चुनावी तालमेल भएका स्थानीय तहमा ‘सूर्य’ चुनाव चिह्नमा मतदान गर्न आफ्ना कार्यकर्ता तथा मतदातालाई आग्रह गरेको हो । उनले भने, एमालेसँग तालमेल नभएका ठाउँमा भने आफ्नै पार्टीका उम्मेदारको ‘तीर’ चिह्न मतदान गर्न भनिएको छ । बैठकपछि एक विज्ञप्ती जारी गर्दै उक्त आह्वान गरिएको हो ।

वैशाख ३० मा हुने निर्वाचनमा राप्रपाले आफ्नो पार्टीका उम्मेदवार नभएका ठाउँमा नेकपा एमालेका उम्मेद्वारहरुलाई सघाउने गरी गत चैत्र ३० गते आपसी सहकार्य गर्ने सहमति भएको स्मरण गराउदै आफ्ना उम्मेदवार भएका गाउँपालिका र नगरपालिकाहरुमा आफ्नै पार्टीको चुनाव चिह्न ‘तीर’ मा र एमालेसँग चुनावी सहमति भएका ठाउँहरुमा ‘सूर्य’ चिह्नमा मतदान गर्न अध्यक्ष थापाले आग्रह गरेका छन् ।