एक वडामा मतगणनालाई ४० घण्टा

काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाको १ वडाको ३ हजार १०० मतगणना गर्न करिब ४० घण्टा लाग्ने भएको छ । वैशाख ३० गते शुक्रबार स्थानीय तहको निर्वाचन सकिएपछि त्यसै रात २ बजेदेखि नगरको १ नं वडाको मतगणना सुरु भएको थियो ।

शुक्रबार रातिदेखि गणना सुरु भएको १ नं वडाको मतगणना अझै सकिएको छैन । हालसम्म वडा नं १ को दुई हजार ४२४ मतगणना भएको नगर निर्वाचन अधिकृत शारदा राउतले जानकारी दिएका छन् । यस वडाको मतगणना सुरु भएको ३२ घण्टा पूरा भइसकेको छ ।

वडा नं १ मा तीन हजार १०० मत खसेको छ । बाँकी ७०० मतगणना गर्न आज बेलुकीसम्म लाग्ने अधिकृत राउतले बताए । निर्वाचन अधिकृतको कार्यालयमा स्थान अभावका कारण धेरै मतगणना गर्न सकिने अवस्था छैन । हाल ९ नं वडाको पनि मतगणना भइरहेको छ । यहाँ २ वटा वडाको मात्र मतगणना गर्न सकिने हल रहेको छ ।

वडा नं ९ को भने करिब १ हजार ७०० मतगणना भएको छ । नगरको वडा नं ९ मा नेपाली कांग्रेसका तर्फबाट नगर प्रमुख पदका उम्मेदवारले अग्रता लिएको जानकारी दिएको छ । वडा नं १ मा भने अहिले थोरै मतान्तरले नेकपा एमालेले अग्रता लिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिइएको छ ।
मतगणना भइरहेको दुवै वडाको वडाध्यक्ष पदमा भने एमालेका उम्मेदवारले अग्रता कायम गरेका छन् । नगरपालिकामा ९ वटा वडा छन् । नगरपालिकामा कूल ३५ हजार ४९३ मतदाता छन् । जसमध्ये २६ हजार ९२८ मत खसेको थियो । यो कूल मतदाता सङ्ख्याको ७६ प्रतिशत भएको नगर निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।