न्युयोर्कको सुपरमार्केटमा अन्धाधुन्ध गोली चल्यो, १० जनाको मृत्यु

काठमडौँ । न्युयोर्कको सुपरमार्केटमा कर्मचारीमाथि अन्धाधुन्ध गोली प्रहार भएको छ । न्युयोर्क राज्यको बफेलोमा भएको गोली काण्डमा परेर कम्तीमा पनि १० जनाको ज्यान गएको छ । प्राप्त समाचारमा न्युयोर्कको सुपरमार्केटमा शनिबार अपराह्न गोली चलेको जानकारी छ । उक्त स्थानमा गोली लागेर केही घाइते पनि भएका छन् ।

अमेरिकी समाचार समिति एसोसिएटेड प्रेस एपीका अनुसार शनिबार अपराह्नमा एकजना व्यक्ति सरासर सुपरमार्केटमा प्रवेश गरेर गोली चलाएको थियो । सैनिकको पोशाकमा आएको एक युवकले गोली हानेको बताइएको छ । ती व्यक्तिले सो सुपरमार्केटमा रहेका कर्मचारीहरुमाथि अन्धाधुन्ध गोली चलाएको थियो ।

बफेलोका प्रहरी विभागका प्रमुखले गोली चलाउने व्यक्तिलाई नियन्त्रणमा लिइएको जानकारी गराएको छ । उनले गोली प्रहार गरी हत्या गर्ने ती व्यक्तिलाई नियन्त्रणमा लिइएको ट्वीटरमार्फत् जानकारी दिएका हुन् ।अमेरिकी राष्ट्रपति जो बाइडेनले सो हत्याकाण्डको बारेमा जानकारी लिएको ह्वाइट हाउसले जानकारी दिइएको छ ।