चितवन कारागारमा ७ सय ४१ कैदीबन्दी, सबैभन्दा बढी जबरजस्ती करणीका

काठमाडौँ । चितवानको कारागार कार्यालयमा हाल ७ सय ४१ कैदीबन्दी रहेका छन् । यसमध्ये सबैभन्दा बढी जबरजस्ती करणीका कैदीबन्दी रहेको कार्यालयले जानकारी दिएको छ । कारागारमा जबरजस्ती करणीका २०८ कैदीबन्दी रहेका हुन् । अन्य १४८ कैदी र ६० बन्दी रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । उनीहरुमध्ये एकजना महिला बन्दी छन् ।

कार्यालयका प्रमुख कमलप्रसाद आचार्यका अनुसार जबरर्जस्ती करणीमा रहेका कैदीबन्दी अधिकांश ४० वर्ष माथिका भएको बताए । यस कारागारमा दोस्रो ठूलो सङ्ख्यामा लागुऔषधसम्बन्धी कसूरका कैदीबन्दी पनि रहेका छन् । लागुऔषधसम्बन्धी कसूरका १४० कैदीबन्दी रहेको उनले बताए ।

लागुऔषधसम्बन्धी कसूरमा १० महिला र १३० पुरुष कारागारमा रहेका छन् । उनीहरु २५ वर्षभन्दा माथिका रहेको आचार्यको भनाइ छ । यस्तै कर्तव्य ज्यान मुद्दामा ८१ पुरुष र २१ जना महिला गरी १०२ छन् । गैँडाको खाग बिक्री मुद्दाका ६९, सवारी ज्यान मुद्दाका ५५, चोरी मुद्दाका ४९ रहेको कार्यालयले जानकारी दिएको छ ।

अन्य डाँका, ज्यानमार्ने उद्योग, जिउ मास्ने बेच्ने मानव मेचबिखन, अपहरण तथा शारीरिक बन्धक, केही सार्वजनिक अपराध, हातहतियार खरखजाना, काठ चोरी, आत्महत्या दुरुत्साहन, ठगी, गौबध, खोटाचलान, बहुविवाह, सैनिक ऐन प्रहरी, सम्पत्ती शुद्धिकरण र आगजनी मुद्दाका कैदीबन्दी कारागारमा रहेका छन् ।

आचार्यका अनुसार उनीहरुसँगै दुईजना आश्रित नाबालिका रहेका छन् । यस कारागारमा चितवनसहित तीन जिल्लाका कैदीबन्दी रहेको उनले जानकारी दिएको छ । मकवानपुर र नवलपुर जिल्लाका कैदीबन्दी धेरै चितवन आउने गरेको आचार्यले बताएका छन् । स्वास्थ्य सुविधाका कारण चितवनमा कैदीबन्दी बढी आउने गरेको उनको भनाइ छ ।

यस कारागारमा क्षमता भन्दाबढी कैदी बन्दी रहेका छन् । २५५ जनाको क्षमता रहेको पुरुष कैदी बन्दी गृहमा ६९० जना र २५ जना कैदी बन्दीको क्षमता भएको महिला बन्दी गृहमा ५१ जना रहेका छन् ।