गठबन्धनलाई हराउँदै घोराहीमा एमालेका चौधरी निर्वाचित

काठमाडौँ । दाङको घोराहीमा गठबन्धनलाई हराउँदै एमाले विजयी भएको छ । घोराही उपमहानगरपालिकाको नगरप्रमुखमा नेकपा एमालेका उम्मेदवार नरुलाल चौधरी निर्वाचित भएका छन् । चौधरीले सत्ता गठबन्धनबाट नेकपामाओवादी केन्द्रका उम्मेदवार हेमराज शर्मालाई ५ हजार ३३० मतले हराउँदै दोस्रो कार्यकालका लागि घोराहीको नगरप्रमुखमा विजयी भएका छन् ।

विजयी चौधरीले ३१ हजार ७२८ मत प्राप्त गर्न सफल भएका छन् । पराजित शर्माले २६ हजार ३६८ मत प्राप्त गरेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ । चौधरीले २०४७ को निर्वाचनमा पनि विजयी भएका थिए ।

नगर उपप्रमुखमा एमालेकै हुमा डिसी विजयी भएका छन् । डिसीले गठबन्धनबाट काँग्रेसकाका उपप्रमुखका उम्मेदवार भूपबहादुर डाँगीलाई ४९ मतले हराउँदै विजयी भएका हुन् । बिजयी डिसीले ३ हजार ४०३ प्राप्त गर्दा डाँगीले ३ हजार ३५४ मत मात्रै प्राप्त गरेको थियो । उपप्रमुखमा डिसी र डाँगीबीच कडा प्रतिस्पर्धा रहे पनि अन्तत नेकपा एमालेकी उम्मेदवार डिसी विजयी हुन सफल भएको हो ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चावीच चुनावी तालमेल रहेको घोराहीका वडा नं, १,२,३,४,५,६,७,८,११,१२,१४,१७ र १८ वडा नेकपा एमाले विजय गरेका छन् भने गठबन्धनबाट काँग्रेसले १०,१३, १५ , १६ र १९ नम्वर र माओवादी केन्द्रले वडा नं ९ विजय हासिल गरेका छन् ।