मतपरिणाम घोषणापछि भेटियो सिलबन्दी मतपेटिका

काठमाडौँ । महोत्तरीमा मतपरिणाम घोषणापछि सिलबन्दी मतपेटिका भेटिएको छ । बर्दिबासको वडा नम्बर ८ को मत गणना सकेर परिणाम समेत सार्वजनिक भैसकेपछि एउटा मतपेटिका छुटेको पाइएको छ । बर्दिबासको अन्तिम नतिजा सार्वजनिकको पर्खाईमा रहेका नगरबासी मतपेटिका भेटिएको खबरले आश्चर्यमा परेका छन् ।

बर्दिबास ८ अन्तर्गत बेलगाछी ६ को दुई वटा बाकसमध्ये एउटा बाकसको मात्रै मत गणना भएको र अर्को बाकस अर्कै वडाकोमा फेला परेको बर्दिबासकी सहायक निर्वाचन अधिकृत शर्मिला तामाङले बताएकी छन् । १३ वटा वडाको गणना सकेर अन्तिम वडाको मतपेटिका निकाल्ने क्रममा वडा नम्बर ८ को थप मतपेटिका फेला परेको अधिकृत तामाङले जानकारी दिइन् ।

बर्दिवासको मत गणना वडा नम्बर ८ बाटै सुरु भएको थियो । निर्वाचन कार्यालय बर्दिवासले ७ सय ५३ मत प्राप्त गरी माओवादी केन्द्रका शमशेस सिंह लामा वडाध्यक्षमा विजयी भएको घोषणा गरिसकेको छ । मतदान अधिकृत, कर्मचारी र राजनीतिक दलले समेत मत गन्ने बेला सबै बाकसको खोजी नगरेकाले अन्य वडाका बाकससँग त्रुटिबस छुटेको तामाङले बताइन् ।

वडा नम्बर ८ को ९ वटा मतपेटिकामध्ये ८ वटाको मात्रै मत परिणाम सार्वजनिक भएकाले अब सर्वदलीय बैठक बसी सहमति गरिनेछ । छुटेको मतपेटिकाको गणनाबाट आउने परिणाम स्वीकार्य गराएर गणना सुरु गरिने निर्वाचन कार्यालय बर्दिवासले जानकारी गराएको छ ।