कागेश्वरी मनोहरामा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले निर्वाचित

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका उपेन्द्र कार्की ३ हजारभन्दा बढी मतले विजयी भएका छन् । कार्कीले ११ हजार ३२२ मत ल्याई विजयी भएका हुुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामशरण ढुङ्गानाले ८ हजार २६३ मत ल्याएको निर्वाचन अधिकृत शारदा राउतले जानकारी दिएको छ ।

२०७४ को स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट नगर प्रमुख पदमा कृष्णहरि थापा निर्वाचित भएका थियो । एमाले फुटेपछि उन नेकपा एकीकृत समाजवादीमा लागेका थिए । यसपटक पनि समाजवादीका तर्फबाट नगर प्रमुख पदमा लडेका थापा तेस्रो भएका छन् । यसैगरी उपप्रमुखमा एमालेका शान्ता थापाले ९ हजार ९७५ मतका साथ विजय हासिल गरेका छन् ।उनलाई पछ्याउँदै नेकपा माओवादी केन्द्रका भोला चापागाईंले ५ हजार ४२२ मत ल्याएका छन् ।

नगरपालिकाको वडा नं १, ३, र ४ मा एमालेका वडाध्यक्ष विजयी भएका छन् । वडा नं ६ मा एकीकृत समाजवादीका उम्मेदवारले वडाध्यक्ष जित्न सफल भएको नगर निर्वाचन कार्यालयले जानकारी दिएको छ । कांग्रेस वडा नं २, ५, ७, ८ र ९ मा वडा अध्यक्ष जित्न सफल भएको छ ।

नगरपालिकामा कूल ३५ हजार ४९३ मतदाता छन् । त्यसमध्ये २६ हजार ९२८ मत खसेको थियो । यो कूल मतदाता सङ्ख्याको ७६ प्रतिशत भएको नगर निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।